बर्दिया : सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा 'समुदायमा आधारित बाल संरक्षण संयन्त्रको कार्यान्वयन तथा सुदृढीकरण' विषयक तिनदिने प्रशिक्षण तथा अभिमुखीकरण सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्वारा सञ्चालित प्रशिक्षणमा स्थानीय सरकार, पालिका स्तरीय बाल अधिकार समिति, वडा बाल अधिकार समिति, नेपाल प्रहरी, बाल क्लब, एलुम्नी क्लब, धार्मिक तथा सामुदायिक अगुवा, युवा समूह, आमा समूह, बडघर सञ्जाल र धार्मिक सञ्जाल लगायत विभिन्न समुदायमा आधारित संरचनाका ठाकुरबाबा, मधुबन र बारबर्दिया नगरपालिका ३० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रशिक्षणमा बाल अधिकार तथा संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान, बालविवाह, हिंसा, दुव्र्यवहार, शोषण, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान, अभिलेखीकरण, रिपोर्टिङ, रेफरल तथा फलोअपलगायत विषयमा छलफल गरिएको थियो । गम्भीर बाल संरक्षणका घटनालाई समुदायमै अनौपचारिक रूपमा मिलाउने प्रवृत्तिको अन्त्य गर्दै बालमैत्री, गोपनीय, सुरक्षित र कानुनी प्रक्रियामार्फत प्रभावकारी संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो ।
प्रशिक्षणको सहजीकरण केशव कोइरालाले गरेका थिए । साथै, सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले परियोजना तथा प्रशिक्षणका उद्देश्य, सहभागीमूलक अभ्यास तथा समुदायमा आधारित बाल संरक्षण संयन्त्रको भूमिका तथा जिम्मेवारी सम्बन्धी सत्र सहजीकरण गरेका थिए ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले सकारात्मक सोच, सहकार्य र समन्वय सम्बन्धी सत्र सहजीकरण गर्दै बालविवाह, लागूऔषध दुरुपयोग तथा अन्य हानिकारक अभ्यासविरुद्धको अभियान सफल बनाउन समुदायका सबै पक्षको निरन्तर सामूहिक प्रयास आवश्यक रहेको बताए ।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक रामलाल चौधरी र रोशनबहादुर पुन, ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष राजा चौधरी र बार बर्दिया नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष रामफेरन थारुले बालबालिकाको संरक्षणका लागि सर्वपक्षीय साझा अभियानको रुपमा अगाडि बढाउनुपर्नेमा प्रष्ट पार्नुभयो । समापन समारोहका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बाल संरक्षणका सवालमा स्थानीय सरकार तथा समुदायमा आधारित संयन्त्र अझ सक्रिय र जिम्मेवार बन्नुपर्ने बताउँदै बालबालिकासम्बन्धी कार्यक्रम तथा बजेटलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमबाट सहभागीहरूले बाल संरक्षणका घटनाको पहिचान, रिपोर्टिङ, रेफरल तथा फलोअपलाई प्रभावकारी बनाउँदै बालविवाह, हिंसा, लागूऔषध दुरुपयोग र अन्य हानिकारक अभ्यासविरुद्ध समुदायस्तरमा संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार