Listen LIVE

युवाको आकर्षण नबढाए काँग्रेस कमजोर हुन्छ : नेता कोइराला

विराटनगर : नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवालाई पार्टीमा नजोडे काँग्रेस कमजोर हुने बताएका छन् ।  

नेपाली काँग्रेस विराटनगर ४ नम्बर वडा समितिले विराटनगरमा आज आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्वका लागि काङ्ग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए ।

काँग्रेस कमजोर भएमा लोकतन्त्र र देश नै कमजोर हुने धारणा राख्दै ‘लोकतन्त्रको पर्यायवाची नै काँग्रेस हो, यदि काँग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै होइन देश नै कमजोर हुन्छ,’ उनको भनाई थियो । प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले भने ‘काँग्रेसलाई बलियो बनाउन काँग्रेसलाई युवामाझ लिएर जानुपर्छ र काङ्ग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्छ । 

पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र सङ्घको चुनावमा काँग्रेसलाई हराउन काँग्रेस नै लाग्ने गरेको उनको भनाई थियो । काँग्रेसले काँग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा काँग्रेसले नहार्ने उनको भनाई थियो ।

जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने बताउँदै नेता कोइरालाले तर एमाले र अन्य पार्टीहरूसितको प्रतिस्पर्धामा काँग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाजीलाई सबैको अभिभावक हुन सुझावसमेत दिए । आफूले पार्टी सभापति देउवाजीलाई अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउने र देशमा देखिएका समस्याबारे छलफल गर्न सुझाव दिएको बताए ।

‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ उनले भने नेता भएपछि सबैसित भेट्नुपर्छ । सबैलाई भेट्ने मेरो आदत छ । त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजी लगायतसित भेट गरेको हुँ । विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ ।’ 

कार्यक्रममा राष्ट्रियसभाका पूर्व सदस्यसमेत रहेका नेपाली काँग्रेस कोशीका उपसभापति रमेशजंग रायमाझी, नेपाली काँग्रेस कोसी प्रदेशका सहमहामन्त्री डा. प्रमीला गच्छदार, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की लगायतले देशको हरेक राजनैतिक परिवर्तनको नेतृत्व गरेको काँग्रेसले अब आर्थिक परिवर्तनको नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा ७२ वर्ष उमेर पार गरेका ज्येष्ठ क्रियाशील सदस्य नखबहादुर खड्का, सुरेश तिम्सिना, सियाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्णमोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया