Listen LIVE

एमाले बाँकेको कार्यालय पुनर्निर्माण गर्न दश लाख सहयोग

नेपालगञ्ज : जेनजी आन्दोलनको क्रममा आगजनि र तोडफोडबाट क्षतिग्रस्त भएको एमालेको बाँके जिल्ला पार्टी कार्यालय पुनर्निर्माणका लागि क्षेत्र नम्बर १ का कार्यकर्ताले दश लाख रुपैयाँ सहयोग गरेका छन् । 

‘मेरो पार्टी कार्यालय म बनाउँछु’ भन्ने अभियानअन्तर्गत क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताबाट स्वस्फूर्त रूपमा प्राप्त भएको रकम भवन पुनर्निर्माण समितिलाई बुझाइएको एमाले बाँके क्षेत्र नम्बर १ का संयोजक कुस्माखर बस्यालले बताए । 

उनले भने, ‘भवन पुनर्निर्माण अभियानअन्तर्गत कार्यकर्ताले आफ्नो व्यक्तिगत आम्दानी, वृद्धभत्ता तथा घरपालुवा जनावर बिक्री गरी प्रदान गरेको रकम उठेको हो । दश लाख रूपैयाँँ हस्तान्तरण गरेका छौँ ।’ 

कार्यालय निर्माण समितिका संयोजक रत्न खत्री, सदस्यहरू प्रमोद रिजाल र किशोर थापालाई संयुक्तरूपमा सात लाख रुपैयाँ बुझाइएको संयोजक बस्यालले बताए । 

कार्यालय पुनर्निर्माण अभियानमा क्षेत्रमा १७० जना नेता कार्यकर्ताहरूले सहयोग गरेका हुन् । न्यूनतम २०० रूपियाँँदेखि अधिकतम ५५ हजार रूपियाँँसम्म कार्यकर्ताहरूले सहयोग गरेको नेकपा (एमाले) बाँके क्षेत्र नम्बर १ को कार्यालयले जनाएको छ । 

रकम हस्तान्तरण कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालसहित प्रदेश ‘क’ का संयोजक विश्वराज खनाल, प्रदेश ‘ख’ का संयोजक केशवराज शाही, क्षेत्रीय कमिटीका उपाध्यक्ष कृष्ण भुसाल, सचिव अंकित श्रेष्ठ, कोहलपुर पार्टी अध्यक्ष कुलबहादुर भट्टराई, राप्ती सोनारी अध्यक्ष तुल्सीराम थारू, कोहलपुर ३ का वडाध्यक्ष माधव रिजाल र युवा नेता खेम शर्मालगायतको सहभागिता थियो । 

जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते तोडफोड र आगजनीमा परी क्षतिग्रस्त भएको एमाले बाँकेको कार्यालय भवन पुनर्निर्माणका लागि यसअघि जिल्ला उपाध्यक्ष रत्न खत्रीको संयोजकत्वमा भवन पुनर्निर्माण समिति गठन गरिएको थियो ।

सोही समितिअन्तर्गत सङ्कलन भएको रकमबाट भवन पुनर्निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । जेनजी आन्दोलनका क्रममा बाँकेमा एमालेसहित नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरिएको थियो ।

प्रतिक्रिया