Listen LIVE

लुम्बिनी खुला दौडमा आर्मीका श्रेष्ठ र सार्की विजेता

दाङ : लुम्बिनी प्रदेशस्तरीय राष्ट्रिय खुला दस किलोमिटर दौड प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी विजेता भएका छन् ।

प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा शनिबार घोराहीमा भएको ‘लुम्बिनी राष्ट्रिय खुला पुरुष–महिला दौड प्रतियोगिता–२०’ मा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र महिलातर्फ आर्मीकै निशा सार्की प्रथम भएका हुन् । श्रेष्ठले ३१ मिनेट ३० सेकेन्ड र सार्कीले ३७ मिनेट ४० सेकन्डमा दूरी पार गर्दै विजेता बने । विजेता श्रेष्ठ र सार्कीले जनही ५०–५० हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । 

त्यस्तै, पुरुषतर्फ आर्मीकै नरेन्द्र रावतले ३१ मिनेट ३९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो, नेपाल प्रहरीका नागेश्वर अहिरले ३१ मिनेट ४५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो, आर्मीका विनोद रोकायाले ३१ मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै चौथो र एपीएफका रुपेश कार्कीले ३१ मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै पाँचौँ भए ।

आर्मीका सुशीलकुमार शाही छैठौं, आर्मीकै करण रावल सातौँ, कपिलवस्तुका अजय पाँडे क्षेत्री आठौं, सल्यानका बबिन योगी नवौँ र रोल्पाका झरमान पुनले दशौँ स्थान प्राप्त गरे ।

महिलातर्फ एपिएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै दोस्रो, एपीएफकै दिपा परियारले ३९ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै तेस्रो, नेपाल प्रहरीकी सुमित्रा कुमारी चौधरीले ४० मिनेट १७ सेकेन्डमा दूरी पार गर्दै चौथो, आर्मीकी पुष्पा कठायतले ४३ मिनेट ३६ सेकेन्डमा दूरी पार गर्दै पाँचौं भइन् ।

बाँकेकी दीपशिखा शाही छैठौं, बाँकेकै स्वस्तिका शाही सातौँ, दाङकी निरमाया चौधरी आठौं, दाङकै उर्मीला घर्ती मगर नवौँ, रुकुम पश्चिमकी कमला वली दशौँ भएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले बताए ।

दौडमा दोस्रो हुनेले जनही ३०–३० हजार, तेस्रो हुनेले जनही २०–२० हजार, चौथो हुनेले जनही १५–१५ हजार र पाँचौँ हुनेले जनही १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा सहभागी भएका पुरुष महिला खेलाडीमध्ये छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुनेलाई पनि समान पाँच–पाँच हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । खेलकुदको विकाससँगै खेलाडी पहिचान गर्दै प्रदेशमा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा महिला पुरुष गरेर सय बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया