Listen LIVE

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ऐन, कानुन र नियमावलीमार्फत निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिएको र सोही अनुसार काम भइरहेको बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश तहबाट नै सचिव राख्न सक्ने व्यवस्थालाई संस्थागत गर्न पहल जारी राखेको समेत बताए ।

मुख्यमन्त्री आचार्यले भने, ‘‘तपाईँहरू मध्येबाटै प्रदेश सरकारका सचिव बन्नुपर्छ भन्ने मान्यता राखेर सरकार अघि बढेको छ, प्रदेश तहमा निजामती सेवामा आकर्षण बढाउन ध्यान दिएका छौँ । कर्मचारीको मनोबल उच्च राखेर नै समृद्ध प्रदेश बनाउन सकिन्छ ।’’

उनले प्रदेशमा रिक्त रहेको पदमा पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमार्फत प्रक्रिया अघि बढेको तर प्रशासन सेवा तर्फ अदालतमा मुद्दा परेका कारण विज्ञापन हुन नसकेकोले समस्या भएको बताए ।

‘‘कहाँ मिलेको छैन, त्यहाँ सरकारले मिलाउन तयार छ, कर्मचारी साथीहरू संवादमा आउन जरुरी छ ।,’’ मुख्यमन्त्री आचार्यले भने, ‘‘संवादको माध्यमबाट समस्या समाधान गर्न सरकार तयार छ तर ढोका बन्द गर्ने काममा कोही नलाग्नुस् ।’’

प्रदेशलाई बलियो बनाउन कर्मचारी प्रशासनलाई मजबुत बनाउन सरकार लागि परेको भए पनि केही कर्मचारी अदालत जाने प्रवृत्तिका कारण कर्मचारीको रिक्तताको प्रश्न गम्भीर रूपमा उठेको मुख्यमन्त्रीको भनाइ छ ।

‘‘हाम्रा साथीहरू अदालत धाएकै कारण कर्मचारीले जुन वृत्ति विकासको अवसर पाउने हो, त्यो ढिलाइ भयो,’’ उनले भने, ‘‘अवसरलाई वञ्चित गर्न कर्मचारी साथीहरू नै लाग्यौँ, ती नमिलेका कुराहरू मिलाउन सकिन्छ ।’’

सङ्गठनका प्रदेश अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव भीमलाल खनालले गरेका थिए ।

प्रतिक्रिया