Listen LIVE

केदारनाथमा मौसमी रोजगारी : डोकोमै बोकेर तीर्थाटन गराउँदै नेपाली

नेपालगञ्ज : जहाँ रित्तो मानिसलाई हिँड्न धौ धौ पर्छ, त्यहाँ नेपाली कामदारले २२ किलोमिटर उकालीओराली डोकोमै बोकेर भारतीय दर्शनार्थीलाई तीर्थाटन गराउँछन् । रित्तो मान्छे हिँड्न सकस पर्ने बाटोमा पनि तीर्थयात्रुलाई पिठिउँमा बोकेर केदारनाथ मन्दिरको दर्शन गर्न लाने र यातायातका साधन भएको ठाउँसम्म ल्याउने काममा नेपाली युवा खटिने गरेका छन् । 

सुदूरपश्चिम र कर्णालीका धेरै युवाको ‘मौसमी रोजगारी’ को गन्तव्य भारतका प्रमुख सहर र प्रसिद्ध धार्मिक स्थल हुने गरेका छन् । हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल केदारनाथ मन्दिरको दर्शन गर्न २२ किलोमिटर अग्लो पहाड चढ्नु पर्छ । पहाड चढ्न नसक्ने तीर्थयात्रीलाई डोकोमा बोकेर मन्दिरसम्म पु¥याउने काम नेपाली युवाले गर्ने गरेका छन् । तीर्थयात्रुको तौल ८० देखि ९० किलोसम्म हुने गरेको छ । 

१० हजारसम्म आम्दानी 

चारधाम र पञ्चकेदारमध्ये एक केदारनाथ मन्दिर दर्शनका लागि दैनिक हजारौँ तीर्थालु भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग पुग्ने गर्छन् । हिमालयको काखमा अवस्थित केदारनाथलाई १२ ज्योर्तिलिङ्गमध्ये एक मानिन्छ । 

रुद्रप्रयाग जिल्लाको डोलीकाउडेलसम्म सडक सुविधा भए पनि त्यहाँबाट २२ किलोमिटर अग्लो पहाड पैदल हिँडेपछि केदारनाथको दर्शन गर्न सकिन्छ । तीर्थयात्रीका शरीरको तौल अनुसार डोको बोक्ने नेपालीले एक जना तीर्थयात्रीबाट पाँच हजारदेखि १० हजार रुपैयाँ भाडा लिने गरेका छन् ।

जुम्लाको पातारासी गाउँपालिका–२ का गोपाल बुढा डोकोमा तीर्थयात्री बोक्न रुद्रप्रयाग पुगेका छन् । उनका अनुसार तीर्थयात्री बोक्ने काममा करिब पाँच सय नेपाली छन् । उनले बिहान ४ बजे उठेर नेपालीको एक समूह डोकोमा तीर्थयात्री बोकेर डोलीकाउडेलबाट १६ किलोमिटर उकालो पहाड हिँड्ने बताए । उनका अनुसार बिहान हिँडेका तीर्थालु बोक्ने समूह साँझ ६ बजे केदारनाथ मन्दिरमा पुग्ने गर्छन् । उनले भने, “रोजगारीकै लागि हामी यहाँ आएका हौँ । काम कठिन छ । यसरी काम गर्दा प्रतितीर्थयात्रीबाट पाँचदेखि १० हजार भारतीय रुपैयाँ लिने गरेका छौँ । एक ट्रिपको १० हजार लिन्छौँ ।”  

तीर्थालु दर्शन गरेर फर्किंदा डोकोमै बोक्नु परेमा थप १० हजार रुपैयाँ लिने गरिन्छ । उनले तीर्थालु बोकेर पनि कहिलेकाहीँ ज्याला नपाउने गरेको गुनासो पनि गरे ।

जोखिमको काम, हुँदैन बिमा

नेपाली श्रमिकका अनुसार उकालो पहाडमा हिँड्दा माथिबाट ढुङ्गा खस्ने डर पनि उत्तिकै हुन्छ । जोखिमयुक्त काम गर्नु परे पनि नेपाली कामदारको दुर्घटना बिमा हुँदैन । गत वर्ष १४ जना नेपाली कामदारको गौरीकुण्डको पहिरोमा परेर मृत्यु भएको थियो । उक्त पहिरोबाट ज्यान गुमाउनेका परिवारजनले कुनै निकायबाट सहयोग पनि पाएनन् । 

केदारनाथमै तीर्थयात्रुको सेवामा खटिनुभएका लालबहादुर बुढाले डोकोमा तीर्थयात्री बोक्ने काम निकै चुनौतीपूर्ण रहेको बताए । उनी रोजगारीको खोजीमा जुम्लाको पातारासीबाट भारतको केदारनाथ पुगेका हुन् । ज्येष्ठ नागरिक, अशक्त र शरीरको तौल बढी भएका तीर्थालु पहाड उक्लिन सक्दैनन् । ती तीर्थयात्रु डोकोमा बसेर मन्दिरको दर्शन गर्न जाने गरेका छन् । उनले भने, “६० किलो तौल भएका एक नेपालीले ८०÷९० किलो तौल भएका तीर्थयात्रीलाई डोकोमा बोकेरै पहाड उक्लिने गरेका छौँ ।”

बैतडीको झुलाघाटदेखि रुद्रप्रयागसम्म ३८६ किलोमिटर दुरी छ । बैतडीका धार्मिक अगुवा पण्डित गणेशप्रसाद पन्तले मन्दिर दर्शनका लागि बैतडीलगायत सुदूरपश्चिमबाट पनि तीर्थयात्री जाने गरेको बताए । उनले दर्शनका लागि जाने नेपाली भने हिँडेरै केदारनाथ पुगे पनि अधिकांश भारतीय डोकोमा जाने गरेको बताए ।

प्रतिक्रिया