काठमाण्डौ : रुसी अधिकारीहरूले निर्वासित विपक्षी नेता लियोनिद भोल्कोभलाई १८ वर्षको जेल सजाय सुनाएका छन्। भोल्कोभ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक तथा गत वर्ष जेलमा निधन भएका एलेक्सी नाभाल्नीका निकट सहयोगी हुन्।
हाल लिथुआनियामा बस्दै आएका भोल्कोभले आफूमाथि लगाइएका आरोपहरूको सामाजिक सञ्जालमा खण्डन गरेका छन्। नाभाल्नीको आर्कटिक जेलमा निधन भएपछि क्रेमलिनले उनका सहयोगी र परिवारमाथिको कारबाहीलाई अझ तीव्र पारेको छ।
मस्कोले सन् २०२१ मा नाभाल्नीका सङ्गठनहरूलाई ‘अतिवादी’ भन्दै प्रतिबन्ध लगाएको थियो र सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि विपक्षीमाथिको कारबाहीलाई अझ तीव्रता दिएको छ।
इन्टरफ्याक्स समाचार संस्थाले मस्कोको सैन्य अदालतलाई उद्धृत गर्दै जनाएअनुसार, भोल्कोभलाई नौवटा आपराधिक घटनामा ४० भन्दा बढी अपराधमा दोषी ठहर गरिएको छ। रुसले युक्रेन आक्रमणपछि लागू गरिएका सेन्सरसिप कानुनको व्यापक प्रयोग गर्दै तीन वर्षे युद्धविरुद्धको आलोचनालाई दबाउने गरेको छ।
भोल्कोभलाई ‘आतङ्कवादलाई न्यायोचित ठह¥याउने’, सेनाबारे ‘भ्रामक’ सूचना फैलाउने, जालसाजी गर्ने र ‘अतिवादी’ सङ्गठन खडा गर्नेजस्ता अभियोगमा दोषी ठहर गरिएको छ।
सन् २०१९ मा अधिकारीहरूले उनीविरुद्ध फौजदारी मुद्दा चलाएपछि भोल्कोभले रुस छोडेका थिए। उनी सन् २०२१ देखि रुसी प्रशासनको खोजी सूचीमा छन्।
गत वर्ष अप्रिलमा, लिथुआनियाको भिल्नियसस्थित उनको घरबाहिर उनलाई नृशंस हथौडा आक्रमण भएको थियो। यद्यपि, नाभाल्नीका सहयोगीहरूले उक्त आक्रमण क्रेमलिन विरोधी विपक्षको अर्को खेमाले गरेको बताएका थिए। यस आक्रमणले पहिले नै विभाजित विपक्षीहरूलाई थप विभाजित गरेको छ र यसले नाभाल्नीको मृत्युको कारण खोज्ने विपक्षीको अभियानलाई कमजोर बनाएको छ।
नाभाल्नी राष्ट्रपति पुटिनका मुख्य राजनीतिक प्रतिद्वन्द्वी थिए। उनी मस्कोको युक्रेन आक्रमणअघिका वर्षहरूमा क्रेमलिन विरोधी प्रदर्शनमा हजारौँ मानिसहरूलाई सडकमा ल्याउन सक्ने एक मात्र व्यक्ति थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार