Listen LIVE

त्रासमा सुस्तावासी घर छाडेर रातभरि विद्यालयमा

पश्चिम नवलपरासी : नारायणी नदीको पानी बस्ती पस्ने जोखिम बढेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका सुस्तापारिका बासिन्दाले रात विद्यालयको चिसो भुइँमा त्रास र अनिश्चिततामै बिताएका छन् ।

बाढीका कारण नारायणी नदीमा पानीको बहाब बढेपछि सुस्तापारिका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको थियो । घर, खेतबारी र पशुचौपाया छाडेर ज्यान जोगाउन सुस्ताको वारिपट्टि आएका उनीहरूका लागि बिपी माध्यमिक विद्यालय, आफन्त र छरछिमेकका घर अस्थायी आश्रय बने । 

विद्यालयमा आश्रय लिएका विस्थापितका लागि पालिकाले त्रिपाल र म्याटको व्यवस्था गरे पनि रातभर कसैको मन शान्त हुन सकेन । नारायणीको बढ्दो पानी, छाडेर आएको घरबस्ती र त्यहाँ रहेका पशुचौपायाको चिन्ताले अधिकांश विस्थापित रातभर जाग्राम बसे ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले भने, æबालबालिका र ज्येष्ठ नागरिकलाई समाल्दै जागारामै रात बित्यो । ज्यान त जोगियो तर पीर र चिन्ताले कसैलाई सुत्न दिएन ।Æ

बाढीको जोखिम बढेपछि स्थानीय तहले पनि रातभर उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थापनमा टोली परिचालन गरेको थियो । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावितका लागि खाना, स्वच्छ खानेपानी र बसोबासको व्यवस्था गरिएको थियो । 

विद्यालयमा आश्रय लिन नपरेका केही परिवार आफन्त र छरछिमेकका घरमा बसेका छन् तर आफ्नै घर छाडेर अर्काकहाँ ओत लाग्नु परेको पीडा र बिहान बाढीको अवस्था कस्तो होला भन्ने चिन्ताले उनीहरूलाई पनि रातभर सताइरह्यो ।

सुस्तापारिका बासिन्दाका लागि नारायणीको बाढी र कटान हरेक वर्ष दोहोरिने समस्या हो । नारायणी नदीको धार परिवर्तन र कटानका कारण वर्षायाममा बस्ती डुबानको जोखिममा पर्ने गरेको छ । यस पटक भोटेकोशीमा आएको बाढीका कारण नारायणीमा पानीको बहाब एकाएक बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नु परेको हो ।

बिहीबार बिहान नारायणीमा पानीको सतह घट्न थालेपछि भने सुस्तावासीले केही राहत महसुस गरेका थिए । रातभर विद्यालयमा बिताएका सुस्तावासी बिहीबार बिहान घर फर्किए पनि बाढीको त्रास भने अझै हटेको छैन । घर, खेतबारी र पशुचौपायाको अवस्था हेर्न फर्किएका उनीहरूका लागि बाढीको जोखिमसँगै बर्षेनि दोहोरिने कटान र डुबानको समस्या दीर्घकालीन चिन्ताको विषय बनेको छ ।

नारायणीमा पानीको सतह घटेपछि तत्कालको जोखिम टरे पनि सुस्तावासीको मुख्य समस्या भने वर्षायामसँगै फेरि दोहोरिने बाढी र कटान नै हो । सुरक्षित बस्ती, तटबन्ध र दीर्घकालीन नदी नियन्त्रणको व्यवस्था नहुँदासम्म बर्सेनि घर छाडेर सुरक्षित स्थान खोज्नुपर्ने बाध्यता अन्त्य हुने देखिँदैन ।

प्रतिक्रिया