नेपालगञ्ज : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको सहयोगका लागि नेपालगञ्जका विभिन्न मस्जिदमा दुई लाख ६७ हजार रुपैयाँ सहयोग संकलन गरिएको छ ।
मस्जिदमा शुक्रवार हुने सामूहिक नमाजको बेला भेला भएका मुस्लिम समुदायले बाढीपीडितका लागि सो रकम संकलन गरेका हुन् ।
मुस्लिम अगुवा मेराज अहमद हिमालयले नेपालगञ्जका मस्जिदमा शुक्रवार जुमाको नमाजपछि रसुवा, नुवाकोट लगायतका बाढी तथा विपद् प्रभावितको सुरक्षा, उद्धार र सहजताको लागि सामूहिक दुआ गरिनुका साथै राहत तथा उद्धारका लागि सहयोग रकम संकलन गरिएको बताए ।
उनले विभिन्न मस्जिदमा संकलन गरिएको रकम दुई लाख ६७ हजार रुपैयाँ पुगेको र सो रकम प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको बताए ।
मदरसा फैजुन्नबी जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिका अध्यक्ष मोहम्मद अयुब सिद्दिकीका अनुसार सो क्रममा जामा मस्जिदबाट एक लाख ५१ हजार, मदिना नुरी मस्जिदबाट ४८ हजार ३७५, नेपाली मस्जिदबाट ४७ हजार १३३, र मक्का मस्जिद घरबारी टोलबाट २१ हजार गरी जम्मा दुई लाख ६७ हजार ५०८ रुपैयाँ सहयोग रकम संकलन गरिएको छ ।
मुस्लिम अगुवा मेराज अहमद हिमालयको अगुवाईमा गरिएको सहयोग रकम संकलन कार्यमा मुस्लिम युवा जियाउल हक, इरफान अहमद सिद्दिकी, कामिल हलवाइ, अयुब हलवाई, साहिल अन्सारी, सद्दाम हलवाई लगायतको सक्रिय सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार