Listen LIVE

‘वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहन्छौँ’

काठमाण्डौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले आफूहरूले वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहेको बताएका छन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले यही असोज २६ गतेदेखि बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीलाई नयाँ ढंगले परिस्कृत गर्ने निर्णय गर्ने जानकारी दिए। देश हाल प्रतिकूल र पीडादायी अवस्थामा रहेको बताउँदै उनले नयाँ चुनौतीको समाधान गर्न पार्टीलाई नयाँ उर्जा र उत्साहका साथ अगाडि लैजाने बताए।

उनले जेनजी आन्दोलनपछि राजनीतिक, सामाजिक र सुरक्षात्मक अवस्थाले मुलुकलाई गम्भीर संकटतर्फ धकेलिरहेको बताए। कठिन अवस्थामा देशको जिम्मेवारी मुख्य राजनीतिक दलको रूपमा नेपाली कांग्रेसकै काँधमा आएको उनको भनाई छ।

कांग्रेस ऐतिहासिक र प्रजातान्त्रिक पार्टी भएकाले वर्तमान संकटको समाधान कांग्रेसले खोज्न सक्नुपर्ने उनले बताए। यो कांग्रेसको दायित्व पनि रहेको उनको भनाई छ। केन्द्रीय समितिको बैठकमा पार्टीको संगठनात्मक संरचना र नीतिगत दिशाबारे गम्भीर छलफल हुने उनले जानकारी दिए। 

बाढी–पहिरोका कारण उत्पन्न विपत्तिप्रति दुःख व्यक्त गर्दै केन्द्रीय सदस्य रायमाझीले सरकारले विपद्मा गरेको कार्यमा धन्यवाद ज्ञापन गरे। तर उनले सरकार सञ्चालन वैधानिक तरिकाले र वैध नेतृत्वमार्फत हुनुपर्नेमा जोड दिए।

‘हामी नेपाल’ नामक एक एनजीओका सुधन गुरुङले शनिवार राष्ट्रिय विपद प्राधिकरणको बैठकमा सहभागी भएर उच्च सरकारी अधिकारीहरूसँग लिएको ब्रिफिङदेखि तथ्याङ्क मागेको र निर्देशन दिएकोप्रति लक्षित गर्दै उनले संवैधानिक रुपमा सरकार सञ्चालन हुनुपर्नेमा सचेत गराएका हुन्। असंवैधानिक शक्ति केन्द्रहरू हावी हुन थाले भने मुलुकको राजनीति धमिलो बन्ने उनको भनाई छ। अहिले विपद्को नाममा हस्तक्षेप शुरु भए भविष्यमा विकास, अर्थ, परराष्ट्र र सुरक्षाका नाममा पनि प्रभाव बढ्न सक्नेतर्फ उनले सचेत गराए।  

रायमाझीले वर्तमान सरकारले जिम्मेवार र स्वतन्त्र रूपमा काम गर्नुपर्नेमा जोड दिए। सरकारले आफूले तोकेको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने पनि उनले बताए। उनले सरकारलाई निरिह नभई नेपालको सरकार हुँ भन्ने आत्मविश्वासका साथ काम गर्न आग्रह गरे।

प्रतिक्रिया