नेपालगञ्ज : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ का ’सशक्त’ उम्मेदवार सुधान्सु कोइराला वडा–टोलमा पुगेर आशिर्वाद थापिरहेका छन् । उक्त क्षेत्रमा नेपालगञ्जका कुल २३ मध्ये वडा नम्बर १६ र १७ बाहेक बाँकी वडाहरु तथा डुडुवा गाउँपालिका पर्दछ । चुनावमा पहिलोपटक उम्मेदवार बनेका कोइराला मतदाताबाट पाइरहेको आशिर्वाद र हौसलाले उत्साहित देखिन्छन् ।
नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनी कांग्रेस बाँकेका सचिव हुन् । उनी पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशिल कोइरालाका भतिज हुन् । यस्तै नेपाली कांग्रेस बाँकेका पूर्व सभापति किरण कोइराला र स्वर्गीय अरुण कोइरालाका सुपुत्र हुन् । यसअघि सोही क्षेत्रबाट स्वर्गीय सुशिल कोइराला चुनाव लड्दै आएका थिए ।
उनको निधनपछि २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादीका नेता मोहम्मद इश्तियाक राई र २०७९ को निर्वाचनमा राप्रपाका महामन्त्री डा. धवल सम्शेर राणा निर्वाचित भएका थिए । विगतका दुई वटा निर्वाचन परिणाम कांग्रेसको अनुकुल बन्न नसके पनि यस पटक मतदाताले कांग्रेसलाई नै जिम्मेवारी दिने उम्मेदवार कोइरालाको विश्वास छ । ’विगतका निर्वाचनमा गठबन्धनका कारण चाहेर पनि रुख चिन्हमा मत खसाल्न नपाएको अवस्था थियो, यसपटक यहाँका मतदाताहरु कांग्रेसकै चुनाव चिन्हमा मत खसाल्न पाउनुहुनेछ, हामी जहाँ पुगेका छौं, त्यहाँको रेस्पोन्स राम्रो पाइराखेका छौं, ’ उनले भने ।
युवादेखि वयस्क र बृद्धहरुको ढुकढुकी बनेका सुधान्सुले पार्टीको बिरासत फर्काउने नेपालगन्जबासीले अनुमान लगाइरहेका बेला उनी वडा–टोलमा पुगेर मत मागिरहेका छन् । आफू जहाँ पुग्दा पनि मतदाताबाट माया र हौसला पाइरहेको उनले सुनाए । ‘म निर्वाचन प्रचारका लागि जहाँ पुगिरहेको छु, मलाई सबैले माया गरिरहनुभएको छ, यसपटक कांग्रेसलाई नै जिताउने कुरा गर्नुहुन्छ,’ कोइरालाले भने ।
निर्वाचन प्रचारकै क्रममा मंगलबार उनी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ सहित विभिन्न स्थानमा पुगेका थिए । त्यस क्रममा वडा तहका कांग्रेस नेता तथा कार्यकर्ता, सर्बसाधारण नागरिक, विभिन्न धर्म, समुदायका अगुवाहरुले स्वागत गरेको कोइरालाको सचिवालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार