नेपालगञ्ज : प्रतिनिधि सभाको निर्वाचन हुन १९ दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा व्यस्त छन् ।
विभिन्न दल र स्वतन्त्ररूपमा उम्मेदवारी दिएका उम्मेदवार अहिले जनताको घरघरमा पुगेर भेटघाट गर्दै स्थानीय समस्या बुझ्न र आफ्नो योजना सुनाउन व्यस्त देखिएका छन् । बाँके क्षेत्र नम्बर २ का उम्मेदवार पनि नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुगेर चुनावी अभियानलाई तीव्र बनाइरहेको स्थानीयले जनाएका छन् ।
क्षेत्र नम्बर २ का नेकपा (एमाले) का उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले हालसम्म नेपालगञ्ज र डुडुवाका धेरै स्थानमा पुगेर मतदातासँग भेट गरी समस्या सुन्ने काम गरिसकेको बताए । उनले विगतमा आफूले गरेका कामको मूल्याङ्कन जनताले गरेको पाएको जनाउँदै थप विकासका लागि मतदाताले अनुरोध गरेको बताए । जनतासँगको भेटघाटबाट आफू उत्साहित भएको पूर्वमन्त्री राईको भनाइ छ ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले पनि घरदैलो अभियानलाई तीव्र पारेको बताउँदै यस पटक कांग्रेसप्रति जनउत्साह देखिएको दाबी गरे ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठ, राप्रपाका ऋषिराज देवकोटा एवं जसपा नेपालका कमरुद्दिन राईले पनि घरदैलो र मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । उनीहरूले टोलटोल र गाउँगाउँमा पुगेर जनतासँग सुझाव लिने, छलफल गर्ने तथा समस्या बुझ्ने काम गरिरहेका छन् ।
यस्तै क्षेत्र नम्बर १ र ३ का उम्मेदवार पनि घरदैलो अभियानमा व्यस्त छन् । फागुन ४ गतेदेखि प्रचारप्रसारको औपचारिक समय सुरु हुने भएकाले त्यसअघि मतदाताका समस्या सुन्ने काम गरिरहेको अधिकांश उम्मेदवारको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार