दाङ : नेपालका लागि म्यानमारका राजदूत उ म्यो म्यिन्ट माउङले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेट गरेका छन् ।
भेटवार्ताका अवसरमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, आपसी सहयोग आदानप्रदान गर्ने तथा सहकार्यलाई बिस्तार गर्ने विषयमा छलफल भएको छ । मुख्यमन्त्री आचार्यले नेपाल–म्यानमार विकास साझेदारीलाई अझ मजबुत बनाउँदै दातृ निकायहरूसँग सहकार्य गरेर प्रदेशलाई समृद्ध बनाउन पहल भइरहेको बताए । साथै, लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, मौलिक कला तथा संस्कृतिको समृद्धि रहेको र यी क्षेत्रहरूको प्रवद्र्धन तथा विकासका लागि म्यानमार सरकार तथा सम्बन्धित साझेदारहरूसँग सहकार्य गर्ने अपेक्षा रहेको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले नेपाल र म्यानमारबिच ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै म्यानमार सरकारले लुम्बिनीमा चैत्य निर्माण गरी यहाँको विकासमा पुर्याएको योगदानप्रति आभार व्यक्त गरे । नेपाल र म्यानमारबिच १९६० को मार्च १९ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुवै मुलुकबीच आपसी मित्रता र सहकार्य निरन्तर सुदृढ हुँदै आएको छ ।
राजदूत उ म्यो म्यिन्ट माउङले नेपाल र म्यानमार सांस्कृतिक तथा धार्मिक सम्बन्धले जोडिएको बताउँदै यो सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सकिने उल्लेख गरे । उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल–म्यानमार सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । साथै, म्यानमार सरकार लुम्बिनी प्रदेश सरकारसँग साझेदारी गर्न इच्छुक रहेको जानकारी गराए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार