Listen LIVE

पश्चिम तराईमा तापक्रम ४० डिग्री नाघ्यो, लु चलेपछि जनजीवन प्रभावित

नेपालगञ्ज : छिमेकी मुलुक भारतमा अत्यधिक गर्मी र हिटस्ट्रोकका कारण मृत्युका खबरहरू आइरहेका बेला नेपालका पश्चिमी तराई क्षेत्र पनि चर्को गर्मीबाट प्रभावित भएका छन् ।

केही दिनदेखि नेपालगञ्जस्थित भेरी अस्पतालमा हरेक दिन करिब १०० जना बिरामी गर्मीका कारण प्रभावित भएर आउने गरेका छन् । लुबाट प्रभावित अधिकांश बिरामीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ ।

'हाम्रो अस्पतालका सबै २०० बेडहरू भरिएका छन्, जसमा लु प्रभावित बिरामीहरूका संख्या पनि उल्लेख्य छन्,' अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले भने, 'इमर्जेन्सी वार्डमा बिरामीहरूको चाप अत्यधिक छ । तापक्रम अझ बढ्दै गएमा हिटस्ट्रोकका केसहरू अझ बढ्ने अनुमान गरेका छौं ।'

दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगञ्ज, धनगढी, दिपायललगायतका क्षेत्रका मानिसहरू गर्मीबाट प्रभावित भएका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अन्य जिल्लाहरूमा पनि तापक्रम करिब ४० डिग्री सेल्सियस आसपास पुगेको छ, जसले लुको अवस्था सिर्जना गरेको छ ।

चिकित्सकहरूका अनुसार दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदुरहरू बढी प्रभावित भएका छन् । लुका बिरामीबाहेक ज्वरो, झाडापखाला र सर्पदंशका केसहरू पनि बढेको उनीहरूले बताएका छन् ।

दक्षिणी भारतमा यस वर्षको गर्मी याममा मात्र  कम्तीमा १६ जनाको हिटस्ट्रोकका कारण मृत्यु भएको खबर छ । भारतका धेरैजसो ठाउँमा हिजोआज तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

नेपालको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई जिल्लाहरूका लागि लुको चेतावनी र पहाडी क्षेत्रमा 'तातो दिन' को चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया