Listen LIVE

सिनवारको मृत्यु भए पनि हमास जिवित रहेको खमेनीको घोषणा

काठमाण्डौ : इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषणा गरेका छन् ।

सिनवारको मृत्यु पीडादायी भएता पनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने खामेनीले बताए । उनले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने जनाए । 

खमेनीले सिनवारको बारेमा उल्लेख गर्दै भने “सिनवार “प्रतिरोध र सङ्घर्षको चम्किलो व्यक्तित्व हुन, जो क्रूर र आक्रामक शत्रु विरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे ।” सन् २०२३ अक्टोबर–७ को आक्रमणको मुख्य नाइकेको रुपमा सिनवारलाई चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्कीएको भए नि निरन्तर अघि बढ्ने बताए । 

उनले सन् २०२३ अक्टोबर–७ बाट सुरु भएको युद्धमा सिनवार यस क्षेत्रको इतिहासमा उच्च विरासतको साथ उल्लेख्य योगदान गरी सम्मान र गर्वका साथ शहीद भएको बताए । 

इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउँदै सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यका लागि आफ्नो समर्थनलाई आफ्नो विदेश नीतिको आधार बनाएकोसमेत उनले उल्लेख गरे ।

लामो समयदेखि छायाँमा रहेका सिनवारले गत जुलाईमा इरानी राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्यापछि हमासको प्रमुखको पदभार ग्रहण गरेको स्रोतले जनाएको छ । 

इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाएको छ यद्यपी इजरायलले भने हालसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया