Listen LIVE

क्रुर बन्दै तालिवान : १४ लाख महिला शिक्षाबाट विमुख

काठमाण्डौ : तालिवान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले जनाएको छ। 

अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश हो।  सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिवानले आफ्नो शरिया वा इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो। तालिवान सरकारले पुरुषको शिक्षामा रोक लगाएको छैन भने महिलाका लागि कक्षाकोठा र क्याम्पसहरू पुनः खोल्ने कुनै सङ्केत देखाएको छैन।  

तालिवान सरकारले सत्ता कब्जा गरेदेखि कम्तिमा १४ लाख केटीहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ। यो संख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी हो। 

’यदि हामीले प्रतिबन्ध लागू हुनुअघि नै शिक्षाको पहुँच नभएका महिलाहरूलाई जोड्ने हो भने अब देशमा लगभग २५ लाख महिला शिक्षाको अधिकारबाट वञ्चित छन्। यो तथ्याङ्कले ८० प्रतिशत विद्यालय जाने उमेरका युवतीहरूको प्रतिनिधित्व गर्दछ’, युनेस्कोले भनेको छ। 

तालिवान सरकारले यो टिप्पणीको कुनै जवाफ दिएको छैन।

युनेस्कोका अधिकारीहरूले अफगानिस्तानमा शिक्षाको क्षेत्रमा दुई दशकको स्थिर प्रगति “लगभग समाप्त’ भएको चेतावनी दिएका छन्। “सम्पूर्ण पुस्ताको भविष्य अहिले खतरामा छ’, अधिकारीहरूले भने।  

तालिवानले महिला तथा बालिकामाथि लगाएको प्रतिबन्धले बाल श्रम र बाल विवाहमा वृद्धि भएको राष्ट्रसङ्घले जनाएको छ।  तालिवानले बुधबार बगराम एयर बेसमा आफ्नो शासनको तीन वर्ष मनायो। दशकौँको द्वन्द्व र अस्थिरताले लाखौँ अफगानीलाई भोकमरीको सङ्घारमा धकेलेको छ र देशमा बेरोजगारी दर उच्च छ।

प्रतिक्रिया