Listen LIVE

दुध उत्पादन बढाउन वंश सुधार

दाङ : दुध उत्पादन बढाई किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले दाङको देउखुरीमा हुलाकी राजमार्गलक्षित भैँसीको वंश सुधार कार्यक्रम सञ्चालन हुने भएको छ ।

लुम्बिनी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा राजपुर र गढवा गाउँपालिकामा भैँसीपालन व्यवसायमा संलग्न यादव समुदायलक्षित कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

परम्परागतरूपमा भैँसीपालन पेसामा आबद्ध यादव समुदायलाई व्यवस्थित र आधुनिक पशुपालन प्रणालीमा जोड्दै आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित हुलाकी राजमार्गलक्षित भैँसी वंश सुधार कार्यक्रम गर्न थालिएको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र दाङका प्रमुख डा. हरिनारायणप्रसाद थारूले बताए । कार्यालय प्रमुख डा. थारूका अनुसार कार्यक्रम अन्तर्गत ६० किसानलाई तीन समूहमा आबद्ध गराई भैँसीपालनसम्बन्धी तालिम, आहार व्यवस्थापनका लागि घाँसको बिउ सहयोग, समूहलाई उन्नत जातको राँगा सहयोग तथा आवश्यक प्रविधि हस्तान्तरण गरिने छ । 

थारूले भैँसीको वंश सुधार कार्यक्रमले दुध उत्पादन वृद्धि भई किसानको आम्दानीमा सुधार ल्याउने अपेक्षा गरिएको बताए । प्रदेश सरकारको कृषि आधुनिकीकरण नीति अनुसार स्थानीय जातका भैँसीपालनमा संलग्न यादव समुदायलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन र आयआर्जन बढाउने लक्ष्यसाथ कार्यक्रम अघि बढाउन थालिएको प्रमुख थारूले बताए । 

कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रम अन्तर्गत किसानको गोठ सुधारमा समेत सहयोग गर्ने कार्यालयको योजना छ । 

जिल्लामा सबैभन्दा बढी भैँसीपालन राजपुर र गढवा गाउँपालिकामा हुने गरेको छ । राजपुर र गढवाका विभिन्न स्थानमा पुख्र्यौली पेसाका रूपमा यादव समुदायले भैँसीपालन गर्दै आएका छन् । भेटेरिनरी अस्पताल तथा पशुविज्ञसेवा केन्द्र दाङका अनुसार जिल्लामा करिब ७० हजार भैँसी रहेकोमा राजपुर र गढवामा मात्र २० देखि २५ हजार भैँसीपालन गरिएको छ ।

प्रतिक्रिया