Listen LIVE

बर्दियामा ८२ प्रतिशत किशोरीमा रक्तअल्पता

बर्दिया : बर्दियामा किशोरीमा रक्तअल्पताको समस्या बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय बर्दियाले गरेको रक्त परीक्षणमा ८२ प्रतिशत किशोरीमा रक्तअल्पता देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो दर ८० प्रतिशत थियो ।

स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका आठ पालिकाका आठ विद्यालयमा अध्ययनरत एक हजार ९६८ किशोरीको रक्त परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये एक हजार ६१७ जनामा रक्तअल्पता देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

रक्तअल्पता देखिएका किशोरीमध्ये ८२० जनामा सामान्य, ७६५ जनामा मध्यम र ३२ जनामा कडा रक्तअल्पता देखिएको छ । परीक्षण गरिएका ३५१ किशोरीमा भने रक्तअल्पता नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कडा रक्तअल्पता देखिएका किशोरीलाई औषधी उपलब्ध गराई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ । सामान्य र मध्यम रक्तअल्पता देखिएका किशोरीलाई आइरन चक्की उपलब्ध गराउनुका साथै पोषिलो तथा सन्तुलित खाना खान सुझाव दिइएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी पद्माकुमारी श्रेष्ठले बताइन् ।

स्वास्थ्य कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका आठ पालिकाका १६ विद्यालयका तीन हजार ३३७ किशोरीको रक्त परीक्षण गरेको थियो । सो परीक्षणमा दुई हजार ६९३ अर्थात् करिब ८० प्रतिशत किशोरीमा रक्तअल्पता देखिएको थियो ।

किशोरीलाई नियमित रूपमा आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालन भए पनि रक्तअल्पताको अवस्थामा अपेक्षित सुधार आउन नसकेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख उमेश गौतमले बताए । उनका अनुसार केही पालिकाका विद्यालयमा सुधार देखिए पनि समग्र अवस्था सोचेजस्तो सुधार भएको छैन ।

'आइरन चक्की खुवाएर मात्र रक्तअल्पताको समस्या समाधान हुने देखिँदैन । घरको खानपान र व्यवहारमा पनि सुधार गर्नुपर्ने देखिन्छ,' उनले भने, 'आइरन चक्की खुवाउँदा समेत किन सुधार हुन सकेको छैन भन्ने विषयमा बृहत् अध्ययन आवश्यक छ ।'

गौतमका अनुसार जिल्लाका केही विद्यालयमा ९६ प्रतिशतसम्म किशोरीमा रक्तअल्पता देखिएको छ । गेरुवा गाउँपालिकाको एक विद्यालयमा गरिएको परीक्षणमा ९८ प्रतिशत किशोरीमा रक्तअल्पता देखिएको उनले बताए ।

नेपालमा किशोरीमा रक्तअल्पताको औसत दर करिब ३९ प्रतिशत रहेको उल्लेख गर्दै गौतमले बर्दियाको अवस्था राष्ट्रिय औसतभन्दा दोब्बरभन्दा बढी रहेको बताए । उनले किशोरीमा रक्तअल्पताको उच्च दर देखिनु गम्भीर जनस्वास्थ्य समस्या भएको बताउँदै यसको कारण पहिचान गर्न थप अध्ययन आवश्यक रहेको उल्लेख गरे ।

'बर्दियामा किशोरीमा मात्र नभई अन्य उमेर समूहमा पनि रक्तअल्पताको अवस्था हुन सक्छ । यसको कारण पहिचान गरी समस्या समाधानका लागि प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक छ,' उनले भने ।

उनले रक्तअल्पताको अवस्था गम्भीर देखिएकाले सम्बन्धित विभाग र मन्त्रालयस्तरबाट आकस्मिक रूपमा छलफल गरी यसको कारण पहिचान र समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

सरकारले किशोरीमा रक्तअल्पता न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा हरेक हप्ता आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, आइरन चक्की वितरणसँगै किशोरीको खानपान र पोषणको अवस्थामासमेत ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्यकर्मीका अनुसार किशोरकिशोरीमा घरमै तयार गरिएका पोषिला तथा प्राकृतिक खानाको तुलनामा बजारमा पाइने जंक फुडप्रतिको आकर्षण बढ्दै गएको छ । पोषक तत्त्वयुक्त खानाको कमीका कारण किशोरीमा रक्तअल्पताको समस्या देखिन सक्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया