Listen LIVE

फिल्म सेन्सर बोर्डमा तत्काल सहि व्यक्ति ल्याउन मन्त्री खरेलको निर्देशन

काठमाण्डौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन दिएका छन् ।

समितिका पदाधिकारी हेरफेर हुनसक्ने संकेत गर्दै उनले मन्त्रालयका सचिव राधिका अर्याल र महाशाखाका प्रमुखहरूलाई उक्त निर्देशन दिएका हुन् ।

मन्त्री खरेलले निर्देशन दिँदै भने, ‘सेन्सर बोर्ड र विकास बोर्डहरूसँग समन्वय गरि तत्काल राइट म्यान इन राइट प्लेस ल्याउनूस ।’

चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले विहिबार चलचित्रकर्मीसँग छलफल र अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा केही चलचित्रकर्मीले सेन्सर बोर्डको काम गर्ने शैलीप्रति आपत्ति जनाएका थिए ।

गुनासाहरूको जवाफ दिँदै मन्त्री खरेलले सहि व्यक्तिलाई बोर्डमा ल्याउन निर्देशन दिएका हुन् । संचार सचिव अर्यालले सेन्सर बोर्डबारे धेरै समस्या आएकाले यसबारे आफूले बुझ्ने बताइन् ।

अभिनेता प्रदीप खड्काले सेन्सर शैलीप्रति आपत्ति जनाए । निर्देशक प्रदीप भट्टराईले सेन्सर कमजोर रहेको बताए । ‘फिल्म लेख्ने बेलादेखि सेन्सर बोर्ड सम्झिएर हाम्रो हात काँप्छ’ भट्टराईले भने, ‘अब सेन्सरलाई खुकुलो बनाउनुपर्छ ।’

अभिनेता जितु नेपालले पनि सेन्सर बोर्ड लचिलो हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया