Listen LIVE

बाँके–२ मा प्रत्येक चुनावमा फरक नतिजा

नेपालगञ्ज : प्रत्येक निर्वाचनमा बाँके–२ ले अप्रत्याशित नतिजा दिँदै आएको छ । यस निर्वाचन क्षेत्रमा एउटै उम्मेदवारले लगातार चुनाव जितेको पाइँदैन । हरेक पटक फरक–फरक नतिजा दिने भएकाले यसपालि पनि यस क्षेत्रमा हुने प्रतिस्पर्धालाई चासोका रुपमा हेरिएको छ ।

नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिका समेटिएको यस क्षेत्रमा कुनै पनि उम्मेदवारले लगातार जितेका छैनन् । त्यसैले दलहरू विरासत जोगाएर नयाँ इतिहास कायम गर्न लागिपरेका छन् ।

यहाँका उम्मेदवारले घरदैलो अभियान सुरु गरिसकेका छन् । बिहानैदेखि मतदाता भेटघाट र प्रचारका कार्यक्रम गरिरहेका छन् । यसपटक बाँके–२ मा विभिन्न दलबाट २० उम्मेदवार प्रतिस्पर्धामा छन् ।

कांग्रेसका पूर्वसभापति सुशील कोइराला यही निर्वाचन क्षेत्रबाट विजयी भएर प्रधानमन्त्री बनेका थिए । कोइरालाबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाका साथै संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई यहीँबाट निर्वाचित भएका हुन् । यसपटक एमालेबाट इस्तियाक राई, कांग्रेसबाट सुधांशु कोइराला, राप्रपाबाट ऋषिराज देवकोटा, रास्वपाबाट विवेक श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीबाट दीपेन्द्र विष्ट उम्मेदवार छन् ।

मधेश आन्दोलनबाट स्थापित राई यसै क्षेत्रबाट विजयी भएर दुईपटक मन्त्री भइसकेका छन् । उनका लागि पनि यहाँबाट जित्नु प्रतिष्ठाको विषय बनेको छ । ०७९ मा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका राई राप्रपाका राणासँग पराजित भएका थिए । एमालेसँग गठबन्धन गरेर राणा विजयी भएका थिए । यस पटक राणा उम्मेदवार छैनन् । राप्रपाबाट देवकोटालाई उम्मेदवार बनाइएको छ ।

पूर्वमन्त्री राईले पनि जसपा छोडेर एमालेबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । कांग्रेसले यसपटक पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भतिजा सुधांशुलाई उम्मेदवार बनाएको छ । ०६४ मा जिल्लामा चारवटा निर्वाचन क्षेत्र बनाउँदा नेपालगञ्ज बजार क्षेत्र नम्बर ३ मा परेको थियो । उक्त निर्वाचनमा सुशील कोइरालालाई फोरमका सर्वदेव ओझाले पराजित गरेका थिए ।

०७९ मा राणाले २९ हजार ५ सय ७८ मत ल्याएर जितेका थिए । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राईले २३ हजार ५ सय २० मत प्राप्त गरेका थिए । कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४ सय ३ मत ल्याएका थिए । रास्वपाका विनोद अग्रहरीले १ हजार ३ सय ३३ मत ल्याएका थिए । ०७४ मा यसै क्षेत्रबाट संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईले २१ हजार ५ सय ७५ मत ल्याएर विजय भएका थिए । एमालेका पशुपतिदयाल मिश्रले १५ हजार ९ सय ५१ र राप्रपाका ओमप्रकाश आजादले १२ हजार ६ सय २२ मत प्राप्त गरेका थिए ।

यस क्षेत्रमा ९७ हजार ८ सय ९ मतदाता रहेका छन् । यसपटक कांग्रेस सुशील कोइरालाको राजनीतिक विरासत जोगाउने प्रयासमा छ । राप्रपाले पनि यसलाई प्रतिष्ठाको विषय बनाएको छ । मन्त्री भइसकेका राईले आफूले गरेको विकासको आधारमा मत मागिरहेका छन् । रास्वपा पनि यसपटक आक्रामक रूपमा प्रचार अभियानमा जुटेको छ । नेकपाले घरदैलो गरिरहेको छ । बाँके–२ मा अहिलेसम्म एमालेले जित प्राप्त गरेको छैन । यस क्षेत्रमा पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास छ ।

प्रतिक्रिया