Listen LIVE

दूध बिक्रीबाट मनग्य आम्दनी गर्दै भट्ट

नेपालगञ्ज : बढैयाताल–८, मुनाल बस्तीका ४१ वर्षीय जयराम भट्टले दैनिक ९० लिटर दूध बेच्ने गरेका छन्।

दाजुहरूसँग मिलेर तरकारी खेती गरिरहेका भट्टले पाँच वर्ष अघि भट्ट गाई फर्म सञ्चालनमा ल्याएर गाईपालन गरेका छन्। सुरुमा एक लाख लगानीमा तीन वटा गाईबाट सुरु गरेका भट्टले अहिले आफ्नो फर्ममा गाइको सङ्ख्या २२ पुर्याएका छन्।

पाँच वर्ष अगाडि भट्टले गाईपालन गर्ने सोच बनाए। गाउँ घरमा भएका तीन गाईबाट सुरु गरिएको फार्मले सुरुवातमै राम्रो प्रतिक्रिया पायो। दूध उत्पादन बढ्दै गएपछि उनले गाईको सङ्ख्या विस्तार गर्ने निर्णय गरे। अहिले फार्ममा २२ वटा गाई छन्, जसमा १० वटा माउ गाई हुन्।

दैनिक ९० लिटर दूध उत्पादन हुने दूध उनले भगवती दुग्ध सहकारी संस्थामार्फत बिक्री गरिरहेका छन् । दूधको मूल्य चिसो मौसममा प्रतिलिटर ६४ र गर्मी मौसममा ७२ रुपैयाँ पर्ने हुँदा वार्षिक आम्दानी उल्लेखनीय छ।

भट्टको फार्ममा वार्षिक करिब ५ लाख रुपैयाँ खर्च हुन्छ। यो खर्च घाँसको बिउ, गाईको आहारा, गोबर व्यवस्थापन, मेसिन र जनावरहरूको बिमामा लाग्छ। खर्च कटाएर भट्टले वार्षिक १२ लाख रुपैयाँसम्म बचत गर्दै आएका छन्।

भट्ट भन्छन् “गाइपालनबाट मात्रै घरखर्च टर्ने र बचत हुने भएपछि मलाई अरू काम गर्नुपर्ने बाध्यता छैन। मेहनत गरे व्यवसायले राम्रो प्रतिफल दिन्छ।” भट्टले फार्मलाई व्यवस्थित बनाउन विभिन्न आधुनिक उपकरणको प्रयोग गर्नुभएको छ। गोबर फाल्ने ठेला, घाँस काट्ने मेसिन र गाईका लागि आरामदायक म्याट जस्ता सामाग्री स्थानीय तहले प्रोत्साहन स्वरूप दिएको बताए ।

यसका साथै, सरकारबाट ५० प्रतिशत अनुदानमा घाँसको बिउ प्राप्त गर्दै आइरहेका छन्। गाईको स्वास्थ्य सुरक्षाका लागि उनले १० वटा माउ गाईको बीमा समेत गराएका छन्।

प्रतिक्रिया