Listen LIVE

हरिवंशको ‘हरिबहादुरको जुत्ता’ दशैंमा आउने

काठमाण्डौ : हरिवंश आचार्य स्टारर फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रदर्शन मिति तय भएको छ । हरिवंशले सामाजिक संजालमार्फत यो फिल्म आगामी दशैंको फूलपातिमा आउने उल्लेख गरेका छन् ।

निर्माता सरोज ओलीले वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टसँगको सहमतिमा फिल्म दशैंमा ल्याइने तय भएको जनाए । दीपेन्द्र के खनालले निर्देशन गरिरहेको यो सोसल कमेडी ड्रामाको छायांकन हरिवंशको जन्मथलो काभ्रेको पनौती क्षेत्रमा भैरहेको छ ।

फिल्म दशैंमा आउने जनाउँदै हरिवंश लेख्छन– ‘हरिबहादुर पनि जुत्ता फुकालेर यसपालीको दशैंमा (फूलपाति) टीका लगाउन आउने भो ।’ यो फिल्ममा मुरलीधर प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसीको पनि अभिनय छ ।’

यसअघि दशैंमा रोहित अधिकारीको ‘माइतीघर’, परिच्छेद सेनको ‘महाराजधिराज’, षट्कोण आट्र्सको अनटाइटल फिल्म र सुशिल पोखरेलको ‘परालको आगो’ले औपचारिकरुपमा प्रदर्शन मिति घोषणा गरेका छन् । दीपकराज गिरी, विराज भट्ट, सन्तोष सेन, अशोक शर्मा लगायतले पनि फिल्म दशैंमा ल्याउने बताएपनि यसबारे टुंगो छैन ।

प्रतिक्रिया