Listen LIVE

जनताको समस्या समाधान गर्न पहल गर्छु : अमर सिंह पुन

नेपालगञ्ज : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले सीमावर्ती क्षेत्रका जनताको समस्या समाधानको लागि नीतिगत रुपमा प्रयास गर्ने बताएका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका पुनले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले पाइरहेको समस्यालाई समाधान गर्नको लागि नीतिगत रुपमा सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘नेपालको लालपूर्जा छ । भूमि छ । हामीले प्रयोग गरिरहेका पनि छौं । तर, बैंकले धितो नराख्ने समस्या छ । यो भनेको सीमावर्ती क्षेत्रका जनताको अवमूल्यन हो । जमिनको मूल्यांकन कम होला तर बैंकले धितो नै नराख्ने नीति परिवर्तन गर्नुपर्छ । यो समस्या देशभरकै सीमावर्ती क्षेत्रको भएकोले नीतिगत सुधार आवश्यक छ ।’

सीमावर्ती क्षेत्रमा बसोबास गरेर नेपालको अस्तित्व जोगाई राख्ने नागरिकप्रति सरकारले अन्याय गरेको पुनले बताए । उनले भने, ‘जसले नेपालको अस्तित्व जोगाइदिनुभएको छ । जसले देशको सीमा सुरक्षामा चौकीदारी गरेका छन् । उनीहरुकै जमिनको मूल्य मान्यता नहुनु दुःखद कुरा हो । मूल्यांकनमा कम होला, त्यो आफ्नो ठाउँमा छ । तर, बैंकले धितो नराख्ने कुरा न्यायपूर्ण छैन ।’

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरका जनतासँग भेटघाट गर्ने क्रममा पुनले यहाँको विकासको लागि स्थानीयसँग छलफल गरेर काम गर्ने बताएका हुन्  ।  

राधापुरमा यस अघि पनि नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर र बादशाह कुर्मीको पहलमा थुप्रै विकास निर्माण काम भएको बताउँदै अब नयाँ योजनाहरु कार्यान्वयनमा आफूले पहल गर्ने बताए । राधापुरको विकासको लागि स्थानीय नागरिकसँगै छलफल गरेर अगाडि बढ्ने उनले बताए ।  खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनवीर क्षेत्रीले सीमावर्ती क्षेत्रका जनताको जमिनलाई बैंकले धितो नराख्ने समस्या रहेको गुनासो गरे । बैंकको नीतिका कारण सीमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको उनले बताए ।

प्रतिक्रिया