Listen LIVE

सुडानमा यौनहिंसा आश्चर्यजनकरूपले बढ्यो : राष्ट्रसंघ

काठमाण्डौ : संयुक्त राष्ट्रसंघको अनुसन्धानले सुडानमा जारी गृहयुद्धमा यौनहिंसा व्यापक बढेको देखाएको छ । 

सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले प्रकाशन गरेको नयाँ प्रतिवेदनमा  विशेषगरी बालिका दुर्व्यवहारको शिकार भइरहेका र महिला र युवती यौन दासत्वका लागि अपहरण भइरहेको उल्लेख छ। ‘सुडानमा अहिले कुनै सुरक्षित स्थान छैन’, अनुसन्धानका अध्यक्ष मोहम्मद चण्डे ओथम्यानले भने।

देशको वास्तविक शासक अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको सुडानी सेना (एसएएफ) र उनको पूर्व सहायक मोहम्मद हमदान डाग्लोको नेतृत्वमा रहेको अर्धसैनिक द्रुत समर्थन बल ९आरएसएफ० बीच सन् २०२३ को अप्रिलदेखि युद्ध चलिरहेको छ। 

सुडानको गृहयुद्धले विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले सोमबार सुडानले भोकमरी, हिंसा, रोग र अकथनीय अत्याचार सहिरहेको बताएका छन्। संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार युद्धका कारण करिब ११.३  मिलियन मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।  दुई करोड ५० लाखभन्दा बढी मानिस तीव्र भोकमरीको सामना गरिरहेका छन्। 

एसएएफ, आरएसएफ र यसका सहयोगीहरुले ठूलो मात्रामा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानून उल्लङ्घन गरेका छन्, जसमध्ये धेरै युद्ध अपराध र मानवता विरुद्धको अपराध हुनसक्ने मिसनको निष्कर्षले जनाएको छ। 

‘सुडानमा हामीले दस्तावेज गरेको यौन हिंसाको मात्रा आश्चर्यजनक छ’, तान्जानियाका पूर्वमुख्यन्यायाधीश ओथम्यानले भने, ‘कमजोर नागरिक, विशेषगरी सबै उमेरका महिला युवतीले सामना गरिरहेको अवस्था चिन्ताजनक छ र तत्काल सम्बोधन आवश्यक छ।’

संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले सन् २०२३ को अक्टोबरमा सुडानका लागि ओथम्यानको अध्यक्षतामा तीन सदस्यीय मिसन स्थापना गरेको थियो।

प्रतिक्रिया