Listen LIVE

बर्दियामा सात वर्षयता वन्यजन्तुबाट ३६ जनाको मृत्यु

बर्दिया : डिभिजन वन कार्यालय, बर्दिया अन्तर्गत जैविक मार्ग र सामुदायिक वन क्षेत्रमा सात वर्षयता ३६ जनाको ज्यान गएको छ । सबैभन्दा बढी बाघको आक्रमणबाट खाता जैविकमार्ग क्षेत्रमा मानिसको ज्यान गएको डिभिजन वन कार्यालय, बर्दियाले जनाएको छ ।

०८२ पुस १५ गते मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा १७ वर्षीया विनिता परियारलाई बाघले आक्रमणमा परी ज्यान लिएको थियो । ०८२ माघ २२ गते मधुवन नपा–९ धर्मबस्तीकी ४९ वर्षीया मैसरा डांगी बाघको आक्रमणमा मृत्यु भयो । 

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता जैविक मार्ग हुँदै भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष जोडिने वन क्षेत्रमा विगत सात वर्षयता मात्रै १८ जना बाघको आक्रमणमा परि मृत्यु भएको छ । ७७ साल कात्तिक ११ गते मधुवन नगरपालिका–३ धनौरास्थित बेलझुण्डी सामुदायिक वनमा च्याउ टिप्न गएका रमेश थारुलाई बाघले आक्रमण गरी मारेको थियो । सोही दिन दाई रमेशलाई खोज्न उक्त वनमा जाँदा भाई २८ वर्षीय दिनेश चौधरीलाई बाघले मा¥यो । 

एउटै परिवारका दुई सदस्यको एकै दिन बाघको आक्रमणमा ज्यान गएको थियो । ०७७ साल असोज ५ गते मधुवन–३ कि २६ वर्षीया गंगा खत्री घाँस काट्न जादा सम्झना सामुदायिक वनमा बाघले मारेको खाता वन समन्वय समितिको तथ्यांकमा छ ।

जैविकमार्गमा ०७७ साल चैत २१ गते मधुवन नगरपालिका–५ स्थित चिरौटो सामुदायिक वनमा दाउरा लिन वन पसेका वडा गाउँ नम्बर–१० कि ५५ वर्षीया समुन्द्री बुढाक्षेत्री र ५० कि धनसरी गुरुङ बाघको आक्रमणमा मृत्यु भएको थियो । 

गतवर्ष दुईसहित सात वर्ष यता १८ जना बाघको आक्रमणमा मृत्यु भएको खाता वन समन्वय समितिका अध्यक्ष हरी गुरुङले बताए । यस क्षेत्रमा बाघ मात्र नभई हात्तीले समेत बेला बेलामा मानवीय र खेतीलगायत भौतिक संरचना क्षति पु¥याउँदै आएको उनले जनाए ।

गतवर्ष पुस १६ गते हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भयो । हात्तीको आक्रमणमा राजापुर नपा–१० कि ४३ वर्षीया बालिका सेनलाई नेपाल–भारत सीमा दशगजा नजिक हात्तीले आक्रमण गरेको डिभिजन वन कार्यालय, बर्दियाका सूचना अधिकारी शिव केसीले बताए । 'आव ०७७/०७८ देखि गत आवसम्म बाघ, हात्ती, गैंडा र चितुवाबाट ३६ जनाको ज्यान गएको छ,' उनले भने, 'गत आवमा मात्रै चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीबाट १ जनाको ज्यान गएको छ ।'

वनमा निउरो टिप्न, चरिचरण, घाँस, दाउरा लिन जाँदा वन्यजन्तुबाट बढी जसो आक्रमण हुने गरेको मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बताए । 'यसबाहेक हात्तीले घर भत्काई मानिसको ज्यान लिने गरेको छ,' उनले भने, 'यसबाट जोगिन मानिसले आनीबानीमा परिवर्तन गर्न जरुरी छ र यसबाहेक पालिकाले जनचेतना जोगाउने प्रचार प्रसार गर्ने गरेका छौं ।'

प्रतिक्रिया