Listen LIVE

नयाँ दलले पुराना राजनीतिक दलहरूलाई सम्मान गरेनन् : प्रधानमन्त्री

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताएका छन् । 

शुक्रवार काठमाडौँमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाए । पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरूले राख्न जरुरी रहेको उनले बताए । नयाँ राजनीतिक दलहरूले बोल्दा हेक्का राखेर बाल्नुपर्ने र पुराना दलहरूको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरूले आफूलाई जन्मदिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरूको अपमान गरिरहेको बताए ।

उनले भने, ‘नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरू कोही पनि ठिक छैनन् । त्यस कारण नेपालमा बस्नु भन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोसिस भइरहेको छ । सच्चाइ त्यही बिलकुल होइन । सच्चाइ त्यसको ठिक उल्टो छ । नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको उनीहरूले नै हो । र अहिले केही नयाँ नयाँ मानिसहरू हामी नयाँ, हामीले गर्छौँ भन्ने ठाउँ दिएको पनि तिनै ठुला पार्टीहरूको त्याग, तपस्या र बलिदान हो ।

इमानदारिता यही हुन्छ की, नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन । नयाँ आएर बोल्नेहरूको जिम्मेवारी हुन्छ की पुराना पार्टीहरूले लामो सङ्घर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलडेको भए लोकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरू आउने वातावरण बन्न सम्भव थियो त ? बिलकुल थिएन । उनीहरूले त पुरानाहरूलाई सम्मान गर्नुपर्ने, तपाईँहरूको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायौँ भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि । आमा बाउलाई त बुडाबुडीलाई त सम्मान पो गर्नुपर्छ । तिनलाई अपमान गर्ने प्रवृत्ति देखा पर्न खोजेको छ, यो प्रतिकात्मक रूपमा मैले भनेको हुँ । यसको सारतत्व वर्गीय नै छ ।’

प्रतिक्रिया