Listen LIVE

भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा

बर्दिया : गुलरिया नगरपालिका–१०, कालाबन्जरका मनोजकुमार पासीको आँगनमा खेलिरहेका चार जना बच्चालाई कुकुरले टोक्यो । मनोजकी बहिनी, भान्जाभान्जीलगायतका बच्चालाई कुकुरले टोकेपछि आइतबार बिहान बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन लगाउनका लागि लैजानुभयो तर अस्पतालले भ्याक्सिन सकिएको र बाहिर औषधी पसलमा गएर भ्याक्सिन लगाउन पठायो । यो शुक्रबारको घटना हो ।  

कमजोर आर्थिक अवस्था भएका उनीहरू चुपचाप बर्दिया अस्पतालअगाडिको औषधी पसलमा गएर चारै जनालाई भ्याक्सिन लगाए । एक जनालाई एक पटक सुई लगाउँदा ७५० तिरेको मनोजले बताए । 

उनले भने, “चार जनालाई तीन–तीन पटक लगाउँदा नौ हजार खर्च लाग्ने भयो,  कहाँबाट ल्याउने, बच्चाको मायाले ऋण गरेर सुई लगाएका छौँ ।” सरकारले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध गराउने भए पनि पर्याप्त नपठाउँदा बर्दिया अस्पतालमा भ्याक्सिन अभाव छ ।

बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा विपन्न परिवारले महँगो मूल्य तिरेर औषधी पसलबाट भ्याक्सिन लगाउन बाध्य  छन् । गत वर्ष पनि बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिनको चरम अभाव देखिएको थियो । भ्याक्सिन लगाउन रकम नहुँदा कतिपय बिरामी टिटानसको सुई लगाएर घर फर्कने गरेको स्वास्थ्यकर्मी बताउँछन् । 

बर्दिया अस्पतालका सूचना अधिकारी केशव न्यौपानेले अस्पतालमा फागुन १८ गतेदेखि रेबिजविरुद्धको भ्याक्सिन सकिएको बताए । उनले गत साउनयता पटक पटक गरेर जम्मा ८४० भाइल मात्र भ्याक्सिन आएको बताए । “अस्पतालमा भ्याक्सिन लगाउनेको चाप बढ्दै गएको छ तर आपूर्ति कम हुँदा सधै अभावको सामना गरिरहनु पर्छ,” उनले भने, “अस्पतालमा मासिक तीन सय भाइल भ्याक्सिन आवश्यक छ तर आपूर्ति एक सय भाइल पनि हुँदैन ।”

प्रतिक्रिया