नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले बाँकेका किसानसँग साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । गत कात्तिक २३ गतेबाट किसानको धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले मङ्सिर १३ गते शनिबारसम्म बाँकेका किसानसँग ७५०३.२० क्विन्टल धान खरिद गरेको हो ।
उक्त समयअवधिमा खाद्यले मोटा धान २५०३.५० क्विन्टल र मध्यम धान ४९९९.७० क्विन्टल गरी जम्मा ७५०३.२० क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले बताए । लामिछानेका अनुसार मोटा धान ८६ लाख ७१ हजार ६४८ रुपैयाँ र मध्यम धान एक करोड ८१ लाख ४० हजार ५६१ रुपैयाँ गरी कुल दुई करोड ६८ लाख १२ हजार २०९ रुपैयाँको धान खरिद गरिएको छ ।
मोटा धानको तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिरहेको उनले बताए ।
“यस वर्ष नेपालगञ्ज कार्यालयबाट १५ हजार क्विन्टल मोटा धान र ५ हजार क्विन्टल मध्यम गरी २० हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएका छौँ, यो कोटा गत वर्षभन्दा आधाले कमी हो । अहिलेसम्म २५०३.५० क्विन्टल मोटा र ४९९९.७० क्विन्टल मध्यम गरी ७५०३.२० क्विन्टल धान खरिद गरिसकेका छौँ,” कार्यालय प्रमुख लामिछानेले भने ।
उनले मध्यम धान खरिदको कोटा पूरा भइसकेकाले अब मध्यम धान खरिद कार्य बन्द गरिएको बताए । “मध्यम धान खरिदको कोटा पूरा भएको छ, अब मध्यम धान खरिद गर्न सक्दैनौँ, यस वर्ष कोटा थप हुने सम्भावना पनि देखिँदैन, यदि किसानले मोटा धानको मूल्यमा मध्यम धान बिक्री गर्न चाहेमा मोटा धानको दरमा खरिद गर्न सक्छौँ,” लामिछानेले भने, “अहिले मोटा धान खरिद गरिरहेका छौँ, यो पनि तोकिएको १५ हजार क्विन्टलभन्दा बढी खरिद गर्न सक्दैनौँ, केन्द्रबाट नै सीमित बजेट छुट्याएको हुँदा १५ हजार पुग्नेबित्तिकै खरिद कार्य बन्द गर्छौँ ।”
धान जोखाइ तथा तौलाइ गर्नका लागि हाल तीनवटा काँटा सञ्चालन गरिएको स्टोर किपर वरिष्ठ सहायक दीपक शर्माले बताए । जोखाइ तथा तौलाइ गर्न आवश्यक मजदुर परिचालन गरिएको छ । मजदुरलाई जिल्लास्थित प्राथमिक खरिद समितिले निर्धारण गरेको प्रतिक्विन्टल जोखाइ तथा तौलाइ गरेबापत ४० रुपैयाँ रकम प्रदान गरिँदै आएको शर्माले जानकारी दिए । उनले जोखाइ तथा तौलाइ गर्ने मजदुरको कमीका कारण तीनवटा मात्र काँटा सञ्चालन गरिएको र थप मजदुरको व्यवस्थापन गरेर काँटा सङ्ख्या पनि बढाएर जतिसक्दो छिटो धान खरिदकार्य सम्पन्न गरिने उल्लेख गरे ।
हालसम्म धान बिक्री गर्न ६५५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएको र सिफारिस दर्ता गराएकामध्ये २०१ जना किसानसँग धान खरिद गरिएको शर्माले जानकारी दिए । उनका अनुसार एक किसानसँग बढीमा ४० क्विन्टल मात्र धान खरिद गरिरहेको र कार्यालयले धान बिक्री गरेबापतको रकम बैंकमार्फत भुक्तानी गर्दैआएको छ । किसानको बैंक खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।
यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण भएको छ । गत वर्ष ४० हजार धान खरिद गर्ने कोटा पाएको यस कार्यालयले मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएकोमा ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार