एजेन्सी : भारतको राजधानी दिल्लीमा अवस्थित इन्दिरा गान्धी अन्ताराष्ट्रिय विमानस्थल (आईजीआईए) मा देखिएको एउटा अचम्मलाग्दो घटना बाहिर आएको छ।
अफगानिस्तानबाट १३ वर्षीय एक किशोर विमानको पाङ्ग्रा पछाडि लुकेर काबुलबाट दिल्ली पुगेका छन्। अध्यागमन विभागले ती किशोरलाई नियन्त्रणमा लिएको छ र सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
ती किशोरले इरान जान चाहेको बताएका समाचारमा जनाइएको छ। विमानस्थलका अधिकारीका अनुसार यो घटना गत आइतबार भएको हो। काबुलबाट काम एयरवेजको उडान नम्बर आरक्यू ४४०१ आइतबार बिहान १०ः२० बजेतिर आईजीआई विमानस्थलमा आइपुग्यो।
जहाज काबुलबाट बिहान ८ः४६ बजे उडेको थियो। आईजीआई विमानस्थलमा यात्रुलाई ओरालेपछि, विमान ट्याक्सी वेमा पार्क गरिएको थियो। त्यहाँका कर्मचारीहरूले विमान नजिकै एक किशोरलाई शङ्कास्पद अवस्थामा हिँडिरहेको देखे। कर्मचारीहरूले किशोरलाई सोधपुछ गरे। उनले आफू अफगानिस्तानबाट आएको बताए। कर्मचारीहरूले तुरुन्तै यसबारे अधिकारीहरूलाई जानकारी गराए।
जानकारी पाउनेबित्तिकै विमानस्थलको सुरक्षामा तैनाथ सिआइएसएफका कर्मचारीहरू त्यहाँ पुगेर किशोरलाई हिरासतमा लिए। किशोरसँग सोधपुछ गरेपछि उनलाई अध्यागमन विभागलाई बुझाइएको थियो।
इरान जान चाहन्थे, दिल्ली पुगे
सोधपुछको क्रममा अफगानिस्तानका किशोर इरान जान चाहेको खुलेको अधिकारीहरू बताउँछन्। उनी गल्तीले भारत जाने उडानमा चढे।
किशोरले बताए अनुसार उनी काबुल विमानस्थलमा यात्रुहरूको गाडी पछाडिबाट भित्र गए र त्यसपछि विमानको पाङ्ग्राको बलमा लुके। उडान भरेपछि पाङ्ग्रा भित्र गएपछि, ढोका बन्द भयो र उनी त्यसमा अड्किए।
अधिकारीहरूका अनुसार किशोर ९४ मिनेटसम्म त्यसमा बसे, जुन कुरा एकदमै स्तब्ध पार्ने खालको छ।
१० हजार फिटभन्दा माथि अक्सिजनको मात्रा धेरै कम हुन्छ, यस्तो अवस्थामा ती किशोरको मृत्यु हुन सक्थ्यो। तैपनि उनी बाँच्न सफल भए। अध्यागमन विभागको हिरासत रहेका उनलाई सोधपुछ गरी अधिकारीहरूले अफगानिस्तान फिर्ता पठाउँदै छन्।
यसअघि पनि भएको थियो यस्तै घटना
आइजीआई विमानस्थलमा भएको यो पहिलो घटना भने होइन। विमानको पाङ्ग्रामा लुकेर काबुलबाट दिल्ली पुगेका किशोरले १९९६ को कथा दोहो¥याए।
सन् १९९६ को सुरुमा, पन्जाबका दुई दाजुभाइ प्रदीप सैनी (२३) र विजय सैनी (१९) ले भिसा र राहदानी बिना अवैध रूपमा विदेश जाने निर्णय गरे। त्यो घातक यात्रामा एक भाइले ज्यान समेत गुमाए।
प्रदीप सैनी र विजय सैनी पन्जाबबाट दिल्ली पुगे र आइजीआई विमानस्थलमा धेरै दिन बसे। विमानस्थलमा प्रवेश गर्ने बाटो खोज्दै दुई दाजुभाइ लन्डनको हिथ्रो जाने ब्रिटिश एयरवेजको उडानको ल्यान्डिङ गियरमा लुके।
विमान उडान भर्नेबित्तिकै ल्यान्डिङ गियर फिर्ता हुन्छ र ढोका बन्द हुन्छ। दिल्लीबाट उडेको लगभग १० घण्टापछि, जब उडान लन्डनको हिथ्रो विमानस्थलमा अवतरण ग¥यो।
एक कर्मचारीले ल्यान्डिङ गियरबाट एउटा भारी वस्तु खसेको देखे। उनले नजिक गएर हेर्दा प्रदीप सैनीलाई देखे, जसको सास चल्दै थियो। उनलाई अस्पतालमा भर्ना गरियो र उनले होस आएपछि सबै कथा सुनाए।
जब प्रदीपले आफ्नो कान्छो भाइ विजयको बारेमा सोधे, उनको खोजी गरियो। घटनाको पाँच दिनपछि, उनको शव दक्षिण–पश्चिम लन्डनको रिचमन्डको एक औद्योगिक क्षेत्रमा फेला प¥यो।
विजयको मृत्यु चिसोका कारण भएको चिकित्सकले पुष्टि गरे। उनी अवतरणको क्रममा विमानस्थल नजिकै विमानबाट दुई हजार फिटको उचाइबाट खसेका थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार