Listen LIVE

‘सारंग’लाई प्रिमियरमा प्रशंसा, ऋचा भन्छिन् : मेरो करिअरको दोस्रो इनिङ

काठमाण्डौ : प्रशान्त तामाङ निर्देशित फिल्म ‘सारंग’ले प्रिमियरमा प्रशंसा पाएको छ । माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको मंगलबार क्युएफएक्सको सिभिल मलस्थित हलमा प्रिमियर गरिएको थियो ।

सो अवसरमा फिल्म हेरेका कलाकार, प्राविधिक, संचारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिले ‘सारंग’ मनपरेको प्रतिक्रिया दिए । अभिनेत्री, निर्देशक दीपाश्री निरौलाले खुलेर फिल्मको प्रशंसा गरिन् ।

विवाहित र अविवाहित सबैका लागि यो फिल्म खास रहेको बताउँदै उनले सबैले हेर्नुपर्ने धारणा राखिन् । फिल्ममा मनोरञ्जनका साथ प्रचुर सन्देशसमेत रहेकाले आमदर्शकको मन जित्ने बिश्वास ब्यक्त गरिन् । उनले ऋचा, उत्पल, बालकलाकारद्वय आदित्य कार्की र सम्राट थापाको अभिनय उत्कृष्ट लागेको बताइन् ।

वास्तविक घटनामा फिल्म निर्माण गर्नु आँटिलो काम भएको र यसका लागि निर्माता, निर्देशकलाई सम्मान गर्नुपर्ने धारणा राखिन् । निर्देशक प्रदीप भट्टराईले ‘सारंग’ हेरेर आफू, श्रीमति र छोरा पनि धेरै ठाउँमा रोएको बताए । उनले यसप्रकारको सुन्दर फिल्म अझै निर्माण गर्नुपर्नेमा जोड दिए ।

निर्माता अर्जुन कुमारले ‘सारंग’ अहिले प्रदर्शन भैरहेकाभन्दा फरक विषयबस्तुको फिल्म भएको बताए । परिवार र समाजलाई सौहाद्र्धतामा बाँधिराख्न यस्ता फिल्मले भूमिका खेल्ने उनले बताए । थुप्रै दृश्यले मन छोएको कुमारले बताए ।

अभिनेत्री प्रियंका कार्कीले वास्तविक कथामा बनेको फिल्मले दर्शकको मन छुने बताइन् । घरपरिवारमा भैरहेका घटनालाई लिएर सुन्दर फिल्म बनाइएको प्रतिक्रिया उनले दिइन् । कलाकार दिब्यदेव र सुलक्षण भारतीले पनि फिल्मको प्रशंसा गरे ।

अभिनेत्री ऋचा शर्माले ‘सारंग’ आफ्नो करिअरको दोस्रो इनिङ भएको बताइन् । उनले भनिन्, ‘केही वर्षको अन्तरालपछि म यही फिल्मबाट पर्दामा आउदैछु र फिल्म पनि निकै राम्रो बनेको छ । यसअघिका बिभिन्न बिशेष शोमा निकै राम्रो प्रतिक्रिया पाएका छौं । त्यसकारण आशावादी छु । मलाई लाग्छ यो मेरो दोस्रो इनिङ हो ।’

यसअघि पनि बालमनोबिज्ञानमा ‘ठूलो मान्छे’ निर्माण गरेका निर्देशक प्रशान्तले ‘सारंग’मा टुक्रिन लागेको परिवारमा दुई बालकको आत्मीयताले गर्ने जादुमय संयोगान्तको कथा प्रस्तुत गरेका छन् । लबिम मल, धरान, इटहरीलगायतका स्थानमा गरिएको विशेष प्रदर्शनीबाट आफूले प्रशंसा पाएको उनले बताए ।

फिल्ममा सहरी जीवनशैली, बाबुआमाबीचको मतभेद, धनी गरिबबीचको खाडल, भौतिक सुख खोज्ने नाममा हुने गरेको पारिवारिक विखन्डनको यथार्थ कथा प्रस्तुत गरिएको छ । फिल्ममा उत्पल झा, समीरमणी दीक्षित, सुरज तमु, मणि के राई, अनिशा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दिपिका थापा, सुमनसागरजंग केसी, प्रभात श्रेष्ठ, बालकलाकारद्वय आदित्य कार्की र सम्राट थापाले अभिनय गरेका छन् ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, डिपी खनालको गीत र सुष्मा राईको नृत्य छ । गोपाल रायले खिचेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । फिल्म देशभरका हलमा स्टेशन फाइभले प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया