Listen LIVE

खुला तीज नृत्य प्रतियोगिताको उपाधि मनीषालाई

नेपालगञ्ज : हरितालिका तीजको अवसरमा नेपालगञ्जमा आयोजित खुला एकल तीज नृत्य प्रतियोगिताको उपाधि मनीषा परियारले हात पारेकी छिन् । बास नेपालको आयोजनामा भएको प्रतियोगितामा २६ जना प्रतियोगीलाई पछि पार्दै परियारले प्रथम स्थान हासिल गरिन् । 

प्रथम स्थान हासिल गरेसँगै उनले नगद ३० हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफी हासिल गरिन् । यसैगरी प्रतियोगितामा द्वितीय स्थान सुदिक्षा घर्तिमगरले हासिल गर्नुभयो भने तृतीय स्थान प्रतिभा बैगारले हासिल गरिन् । प्रतियोगितामा द्वितीय  स्थान हासिल गर्न सफल सुदिक्षाले नगद २० हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी तथा तृतीय स्थान हासिल गर्न सफल प्रतिभाले नगद १० हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । 

सोही प्रकारले प्रतियोगितामा उत्प्रेरणा पुरस्कार मिरा खनालले हासिल गरिन् । खनालले नगद ५ हजार रुपैयाँ प्राप्त गरिन् । सो प्रतियोगितामा पुरस्कार प्राप्त गर्न सफल प्रतियोगीहरुलाई लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, केन्द्रीय सचिव दिला शाह र निर्णायकको भूमिकामा रहनुभएका मौसमी राना मगर, सुमन थापा र सीमा धिमालले नगद, प्रमाणपत्र र ट्रफी वितरण गरे ।  

कार्यक्रममा बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारी, युवा उद्यमी राजकुमार गिरी, बासका पूर्व केन्द्रीय सदस्य रीता कोइराला, किंगस एजुकेशनल कन्सल्टेन्सी प्रालिका प्रमुख खगेन्द्र वली, सनराइज एकेडेमी अफ हस्पिटालिटी एण्ड म्यानेजमेन्टका प्रमुख रमेश खनाल, गायक बलु तामाङलगायतले तीजको मौलिकता जोगाएर मनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया