Listen LIVE

सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा : सञ्चारमन्त्री

कैलाली : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा लागिपरेको बताएकी छन् । प्रेस सेन्टर कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताएकी हुन् ।

मन्त्री शर्माले त्यसका लागि सरकारी कार्यदल बनाएर दश वर्षे गुरुयोजना निर्माण गरिने बताइन् । उनले सूचना प्रविधि दशक अभियानले निजी क्षेत्र उत्साहित भएको र सूचना प्रविधिलाई व्यवस्थित बनाउन सकिए अर्बौँ राजस्व भित्र्याउन सकिने बताइन् ।

मन्त्री शर्माले मिडिया काउन्सिल ऐन संसदमा रहेको र सामाजिक सञ्जालसम्बन्धी विधेयक, आमसञ्चार विधेयक दर्ता प्रक्रियामा रहेको तथा दूरसञ्चार ऐनको ड्राफ्ट तयार भएको बताइन् । उनले आमसञ्चारसम्बन्धी सबै विधेयक, कानुन पारित भएमा पत्रकारिता क्षेत्रमा पुनर्संरचना हुने विश्वास व्यक्त गरिन् ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सरकारले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा केन्द्रित भएर काम गरिरहेको बताइन् । उनले जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरी सरकारले राम्रा काम गरिरहेको र त्यसले जनतालाई आशावादी बनाएको बताइन् ।

जनअपेक्षा अनुसार समयमै पाठ्यपुस्तक, मलखादको वितरण लगायतका कामलाई सरकारले व्यवस्थित ढङ्गले अघि बढाएको उनको भनाइ थियो । यस्तै, ललिता निवास प्रकरण, भुटानी शरणार्थी, सुन काण्ड लगायतमा अडिग भई सरकारले काम गरेको र त्यसले जोसुकै भए पनि सजाएको भागिदार हुन्छ भन्ने स्थापित गरेको बताइन् । उनले सरकार भ्रष्ट्राचार, विकृति र विसङ्गतिका विरुद्ध निर्ममरुपमा अघि बढिरहेको बताइन् ।

पत्रकारको जिज्ञासामा मन्त्री शर्माले सरकारले विपद् व्यवस्थापनका लागि पूर्व तयारीको काम गरिरहेको र सञ्चारमाध्यम मार्फत विपद् सचेतना सामग्री प्रसारणको व्यवस्था गरेको बताइन् । यस्तै, बजेटका कारण सरकार तलमाथि हुँदैन, त्यो सम्भावना छैन, वर्तमान गठबन्धन राजनीतिक स्थायित्व दिनेगरी पूरै अवधि लैजाने सहमति भएको बताइन् ।

सरकार बजेट निर्माणको प्रक्रिया छ, विनियोजनमाथि छलफलमा छ, त्यसैले बजेट चाँडै पारित हुने उनले बताइन् । उनले बजेटमा देखिएका कमिकमजोरीलाई सुधार (परिमार्जन) गर्न प्रयत्न गरिनेसमेत बताइन् । सञ्चारकर्मीको अर्को जिज्ञासामा मन्त्री शर्माले राजदूत लगायतका नियुक्ति सरकारको नियमित प्रक्रिया भएकाले त्यो स्वाभाविक भएको उल्लेख गर्नुहुँदै त्यसलाई बजेटसँग जोड्न उपयुक्त नहुने बताइन् ।

प्रतिक्रिया