Listen LIVE

‘पूर्णबहादुरको सारङ्गी’ मलेसियामा बक्स अफिस रिलिज

काठमाण्डौ : स्वदेशमा सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ शुक्रबारदेखि नेपालीको प्रमुख श्रम बजार मलेसियाको बक्स अफिसमा रिलिज भएको छ । पहिलोपटक कुनै नेपाली फिल्म त्यहाँको बक्स अफिस प्रणालीमा प्रदर्शनमा आएको हो ।

वितरण कम्पनी सेभेन सिजले मलेसियाका पाँच मल्टिप्लेक्स चेनमा रिलिज भएको जनाएको छ । त्यहाँको पेतालिङ जयस्थित टिजिभी सिनेमाले आउने बुधबारसम्मकै शो विवरण सार्वजनिक गरेको छ ।

यो हलले बुधबारसम्म दैनिक तीन शो दिएको छ । कोनतानको एई सिनेमाजमा शुक्रबार १ शो, जोहोर बारुको एमएम सिनेप्लेक्सले आइतबारसम्म दैनिक एक–एक शो, सेरेम्बानको एई सिनेमाजले आइतबारसम्म २–२ शो, जर्ज टाउनस्थित एमएम सिनेप्लेक्सले आइतबारसम्म दैनिक एक–एक शो दिएको छ ।

मलेसियामा सेभेन सिजनले ‘छक्कापञ्जा ५’ लाई प्राइभेट शो गरेको थियो । जापानमा समेत प्राइभेट शोसहित प्रदर्शन भइरहेको छ ।

यसै सातादेखि थाइल्याण्ड, पाकिस्तान र म्यानमारको बक्स अफिसमा समेत फिल्म रिलिज हुँदैछ । नोभेम्बर २४ देखि यो फिल्म डेनमार्क र बेल्जियमको बक्स अफिसमा रिलिज भएको छ । सिंगापुरमा शनिबारदेखि प्रदर्शन तयारी छ ।

‘यति धेरै मुलुकमा पहिलोपटक नेपाली फिल्म बक्स अफिसमा रिलिज भएको हो’ सेभेन सिजका रमेश चौलागाईंले भने, ‘युरोपका अन्य मुलुकमा पनि बक्स अफिसमा लाग्दैछ ।’

अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड र मध्यपूर्वका मुलुकमा समेत बक्स अफिसमा प्रदर्शन आएको फिल्मले त्यहाँ ऐतिहासिक कमाइ गरेको छ ।

प्रतिक्रिया