Listen LIVE

चुनावमा भारतीय नम्बर प्लेटका गाडी प्रयोगमा कडाइ

नेपालगञ्ज : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ। 

प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग र प्रचार सामग्रीको दुरुपयोग भइरहेको गुनासो बढेपछि प्रशासनले निगरानी थप कडा बनाउने जनाएको छ।

सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले आचारसंहिता उल्लङ्घनप्रति शून्य सहनशीलता नीति अवलम्बन गरिने स्पष्ट पारे। दलका प्रतिनिधि र उम्मेदवारलाई सम्बोधन गर्दै उनले निर्वाचनको निष्पक्षतामाथि कुनै शङ्का उत्पन्न हुने गतिविधि नगर्न आग्रह गरे। “निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो, यसलाई मर्यादित बनाउने जिम्मेवारी सबैको साझा हो,” तामाङले भने।

उनले जिल्लाको भौगोलिक बनावट र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालन, मोबाइल गस्ती तथा अनुगमन प्रणालीलाई सक्रिय बनाइएको बताए। २०४८ सालदेखि हालसम्म निर्वाचन क्रमशः मर्यादित बन्दै आएको उल्लेख गर्दै उनले यसपटक पनि सबैको सहकार्यमा शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रशासनका अनुसार पछिल्ला दिनमा प्रचारप्रसारमा विदेशी नम्बर प्लेटका गाडी प्रयोग हुनु, तोकिएको मिति अगावै प्रचार सामग्री वितरण गर्नु तथा सार्वजनिक स्थलमा अवाञ्छित सामग्री टाँस्ने गतिविधि बढेको देखिएको छ। यस्ता कार्यले निर्वाचनको स्वच्छता र समान प्रतिस्पर्धामा असर पार्ने भन्दै तत्काल नियन्त्रण गरिने प्रशासनले जनाएको छ। अनुगमन टोली परिचालन गरी उल्लङ्घन भेटिएमा कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

बैठकमा सहभागी सरोकारवालाले भने आचारसंहिता उल्लङ्घनका घटनामा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रभावकारी अनुगमन हुन नसकेको गुनासो गरे। उनीहरूले निष्पक्ष निर्वाचनका लागि उल्लङ्घन गर्नेलाई दण्ड र कारबाही अनिवार्य गर्नुपर्ने धारणा राखे। प्रशासनले यस विषयमा चासो लिँदै सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रहरूमा एकीकृत सुरक्षा योजना लागू गरिएको जानकारी दिएको छ।

यसैबीच, मुख्य निर्वाचन आयुक्त दीपककुमार दाहालले सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न पुनः अपिल गरे। “विचारधारा फरक भए पनि अहिले सबैको एउटै धर्म छ — सभ्य र मर्यादित निर्वाचन सम्पन्न गराउनु,” उनले भने। उनले फागुन ४ गतेअघि कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने जानकारी गराउँदै सबै दल र स्वतन्त्र उम्मेदवारबाट आचारसंहिता पालनाको प्रतिबद्धता समेत माग गरेका छन्।

प्रशासन, निर्वाचन आयोग र सुरक्षा निकायको संयुक्त प्रयासमा निर्वाचनलाई धाँधलीरहित र विश्वसनीय बनाउन निगरानी कडा पारिँदै लगिएको छ। जिल्लामा स्वच्छ प्रतिस्पर्धा, समान अवसर र मतदाताको स्वतन्त्र अभिव्यक्तिको अधिकार सुनिश्चित गर्न आचारसंहिता पालना नै सबैभन्दा प्रभावकारी उपाय भएको सरोकारवालाको निष्कर्ष छ।

प्रतिक्रिया