Listen LIVE

भारतमा ‘मोन्था चक्रवात’ सक्रिय, नेपालमा वर्षा र हावाहुरीको चेतावनी

काठमाण्डौ : भारतीय मौसम विभागले बंगालको खाडीमा विकसित मोन्था नामको चक्रवातले मंगलबार भारतमा शक्तिशाली आँधी सिर्जना गर्ने जनाएको छ । हाल बंगालको खाडीमा सक्रिय रहेको उक्त चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गर्दै आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ ।

भारतीय मौसम विभागले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘चक्रवात साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा तट पार गर्ने सम्भावना छ ।’ मोन्था आँधीको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टाको दरले बढ्ने अनुमान गरिएको छ ।

भारतीय मौसम विभागले चक्रवात ‘मोन्था’को प्रभावका कारण मंगलबारदेखि बिहीबारसम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । नेपालमा मोन्था आँधीको प्रभाव देखिने मौसम विज्ञान विभागले जनाएको छ । मोन्था चक्रवातले नेपालको पूर्वी क्षेत्रमा वर्षा र हावाहुरी हुने सम्भावना रहेको छ ।

मंगलबारदेखि विहीबारसम्म बंगालको खाडीबाट सक्रिय भएको मोन्था चक्रवातले हिमपात र वर्षा गराउनेछ । मंगलबार मोन्था आँधीले देशैभरकै बदली गराउने र वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया