Listen LIVE

कोहलपुरको महोत्सवमा घरेलु उत्पादनतर्फ दर्शकको आकर्षण

नेपालगञ्ज : बाँकेको कोहलपुरमा पुस ९ गतेदेखि जारी कोहलपुर महोत्सवमा घरेलु उत्पादन वस्तुहरूमा दर्शक–अवलोकनकर्ताको आकर्षण देखिएको छ । महोत्सवस्थलमा राखिएको विभिन्न घरेलु उत्पादनसम्बन्धि वस्तुहरुमा दर्शकको आकर्षण बढेको हो ।

महोत्सवमा राखिएका घरेलु हाते औजार, महिला उद्यमीहरूले उत्पादन गरेका अचार, हाते कपडा, जुत्ता, घरेलु उद्योगद्वारा उत्पादित अगरबत्ती, खाद्यजन्य सामग्रीका स्टललगायतका उत्पादनका साथै फरक ढङ्गले सजाइएको थारू गाउँमा परम्परागत संस्कृति झल्किने कलाकृति तथा सामग्रीहरूले दर्शकको ध्यान खिचेको छ । 

थारू गाउँ स्टलमा राखिएका थारु समुदायको परम्परागत खानपानले महोत्सव अवलोकनकर्तालाई झन आकर्षित गरिरहेको छ । महोत्सवको अर्को मूख्य आकर्षणका रूपमा मट्का चियाको स्टल रहेको छ । 

परम्परागत स्वादलाई आधुनिक उद्यमशीलतासँग जोड्दै कोहलपुरको एक युवा उद्यमीले नयाँ पहिचान बनाएका छन् । कोहलपुरका युवा रमेश चौधरी आफ्नो मौलिक मट्का चिया व्यवसायमार्फत पछिल्लो समय युवामाझ चर्चित भएका छन् ।

स्नातक तहको अध्ययनसँगै सुरक्षित जागिरको खोजीभन्दा स्वरोजगारलाई प्राथमिकता दिँदै चौधरीले आत्मविश्वास, मिहिनेत र मौलिक सोचका साथ आफ्नै व्यवसाय सुरु गरेका छन् । 

परम्परागत माटोको भाँडो (मटका) मा पकाइने चियालाई विशेष स्वाद, सुगन्ध र पहिचानसहित बजारमा ल्याएका छन् । माटोको भाँडोमा पकाइने चियाले प्राकृतिक स्वादका साथै स्वास्थ्यका दृष्टिले फाइदा पुग्ने विश्वासका कारण उनको स्टलमा चियाप्रेमीहरूको भीड लाग्नेगरेको छ ।

यस वर्षको महोत्सवमा पुस्तक प्रदर्शनी कक्षसँगै शैक्षिक तथा पर्यटन प्रवर्धनका गतिविधिहरू समावेश गरिएका छन् । स्थानीय तक्षशिला एकेडेमीले शैक्षिक प्रदर्शनी राखेको छ । नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) बाँकेले बाँके राष्ट्रिय निकुञ्जसँगको समन्वयमा पर्यटन प्रवर्धनको कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त स्टलमार्फत सहुलियत दरमा बाँके राष्ट्रिय निकुञ्ज अवलोकनको व्यवस्था गरिएको नाट्टा बाँकेका महासचिव भागिराम वलीले जानकारी दिए ।

महोत्सव परिसरमा निःशुल्क स्वास्थ्यजाँचको व्यवस्था मिलाइएको छ । महोत्सवको उपमुख्य प्रायोजक नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले अवलोकनकर्तालाई लक्षितगरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । महोत्सव अवधिभर निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको छ । 

कोहलपुर डेन्टल अस्पतालले समेत निःशुल्क दन्त सेवा प्रदान गरिरहेको छ । यसका अतिरिक्त महोत्सवमा बाल उद्यान, जलपरी तथा होटल–रेस्टुरेन्टका व्यावसायिक स्टलहरू सञ्चालनमा छन् ।

महोत्सवमा हरेक दिन स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् । पुस ९ गतेदेखि १८ गतेसम्मका लागि सञ्चालन हुने भनिएको महोत्सवमा दर्शकको घुइँचो बढ्दै गएपछि पाँच दिन थप गरेर पुस २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया