Listen LIVE

किरण नालामा पुल निर्माणले स्थानीयलाई सहज

नेपालगञ्ज : लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा र जानकी गाउँपालिकाको हजारौं बासिन्दालाई आवागमनमा सहजता भएको छ । 

पुल निर्माणको काम सम्पन्न भएपछि खजुरा गाउँपालिका–४, ई गाउँ, चल्तुवा, पार्वतीपुर, जानकी गाउँपालिका वडा ४ छत्ररपुर, लाइनपुर, गिजरा लगायतका दर्जनौं गाउँका हजारौं बासिन्दालाई सहजता भएको खजुरा–४, ई गाउँका वीरबहादुर बिसीले जानकारी दिए । 

स्थानीय बासिन्दा बिसीले भने, “किरण नालामा पक्की पुल निर्माण सम्पन्न भएपछि कोहलपुर र नेपालगञ्ज पुग्न समेत सहज भएको छ, वर्षायाममा पारीगाउँ जानका लागि ५–७ किलोमिटर टाढा जानुपर्ने बाध्यता हटेको छ ।” 

यो पुल निर्माण कम्पनीको ढिलाइ र पुल निर्माणमा प्राविधिक समस्या आएपछि सम्झौताभन्दा ढिलो गरी निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि गाल्वा सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपैयाँमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । 

सम्झौताको समयअवधीसम्म जगको विवादका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो । पुलको जगको गुणस्तरमा आशङ्का गरिएकोमा गतवर्ष विज्ञ टोलीबाट परीक्षण गरी निर्माण कार्य अघि बढाइएको हो । लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारले पुल निर्माण कार्यलाई प्राथमिकता दिएको बताए । 

केही स्थानमा निर्माण व्यवसायीले ढिलाइ गरिरहेको भन्दै उनले सम्बद्ध कार्यालयमार्फत निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताए । किरण नालामा पुल निर्माण भएपनि दायाबायाँ पहुँच सडक निर्माण गरिनु पर्ने भन्दै उनले त्यसका लागि पहल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया