Listen LIVE

दाङमा विस्तार हुँदै स्ट्रबेरी खेती

दाङ : हरेक वर्ष स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गर्दै आएका वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिएका छन् । चार वर्षदेखि व्यावसायिक स्ट्रबेरी खेती गर्दै आएका खड्काका अनुसार हाल बोटमा फल लाग्न सुरु भएको छ । “धेरै जसो बोटमा फल लागिसकेको छ,” उनले भने, “अबको आठ÷दस दिनभित्रै खानलाई तयार हुन्छ ।” रोल्पा माडी गाउँपालिका–१, जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिँगौरामा स्वर्गद्वारी आश्रमको एक बिघा जग्गा लिजमा लिएर ‘एग्रोमार्ट फार्म’ दर्ता गरी व्यावसायिक स्ट्रबेरी खेती गर्दै आएका छन् । गत वर्ष १६ कट्ठामा खेती गरेका खड्काले यस वर्ष सोही ठाउँमा थप चार कट्ठासहित एक बिघामा स्ट्रबेरी खेती बढाएको जानकारी दिए । 

उनले गत वर्ष झन्डै २५ लाख रुपैयाँ बराबरको कारोबार भएको र यस वर्ष गत वर्षभन्दा राम्रो आम्दानी हुने अपेक्षा गरेको बताए । उनले घोराहीमा स्ट्रबेरीको खेती राम्रो भएपछि यसै वर्षदेखि तुलसीपुरमा पनि पाँच कट्ठामा र गृहजिल्ला रोल्पामा पनि आठ रोपनी जग्गामा व्यावसायिकरूपमा खेती गर्दै आएको बताए । 

“बिरुवा खरिद, थोपा सिँचाइ र मल्चिङ विधि अपनाउँदा सुरुमा आठ लाख रुपियाँभन्दा बढी खर्च भएको थियो,” उनले भने, “अहिले त्यसैले काम गरिरहेकाले त्यति खर्च भएको छैन तर तुलसीपुर र रोल्पामा चाहिँ करिब त्यस्तै लगानी पुगेको छ ।” 

उनका अनुसार स्ट्रबेरी दुई महिनादेखि तीन महिनाको बिचमा उत्पादन दिन सुरु हुन्छ । खड्काले यस वर्ष आफूले दुई चरणमा स्ट्रबेरी रोपेको जानकारी दिए । “पहिलो चरणको असोजको अन्त्यतिर रोपेको थिएँ,” उनले भने, “दोस्रो चरणको कात्तिकको पहिला साता रोपिएको हो, यी दुवै चरणमा रोपिएका बिरुवाले अहिले उत्पादन दिने तयारीमा छ ।” उनले स्ट्रबेरी प्रतिकिलो आठ सय रुपैयाँका दरले बिक्री गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया