Listen LIVE

पार्टी फुटाउने योजना हल्लामात्रै : उपप्रधानमन्त्री सिंह

सुर्खेत : उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले साना दलहरु फुटाउने योजना बनाएको भन्ने कुरा हल्लामात्रै भएको बताएका छन् । उनले सरकारले दलहरु फुटाउने योजना गरेको भन्नु बाहिरी हल्लामात्रै भएको र त्यस्तो काम नगर्ने उल्लेख गरे । 

पार्टी कार्यक्रममा आइतवार सुर्खेत आएका बखत नेपाल प्रेस युनियन सुर्खेतले गरेको पत्रकार सम्मेलनमा उनले दलहरु फुटाउने योजना बनाएको भन्नु सरकारविरुद्ध चलाइएको हल्लामात्रै भएको टिप्पणी गरे । उनले सरकारले सदन नचलेको बेला विभिन्न अध्यादेशहरु ल्याएको र ६० दिनभित्र ती अध्यादेशहरु पारित गर्न दलहरुसँग गृहकार्य गरिरहेको जानकारी दिए । नियम र विधिसम्मत अध्यादेशहर ल्याएको भन्दै उनले पारित गराउनका लागि छलफलहरु भइरहेको र ६० दिनभित्र पारित हुने जिकिर गरे । 

यस्तै उनले जनताको राजनीतिक स्थायित्व होस् भन्ने चाहना पुरा गराउनका लागि काँग्रेस र एमालेले गठबन्धन गरेर सरकार गठन गर्नुपरेको उल्लेख गरे । मुलुक राजनीतिक अस्थिरताले गर्दा झन् पछाडि परेको, भ्रष्टाचार बढ्दै गएको र विभिन्न बेथिति बढेकोले राजनीतिक स्थायित्वका लागि जनचाहना अनुसार नै काँग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपरेको उनको भनाइ छ । 

कांग्रेस र एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थायित्व दिन प्रयासरत रहेको र कार्यसम्पादन मूल्याङ्कन गरेर काम गरिरहेको उपप्रधानमन्त्री सिंहले बताए । जनताले चमत्कारिक रुपमा विकास र सुशासन चाहेको तर परिस्थिति सो अनुकूल नभएकोले क्रमशः अगाडि बढिरहेको उनले जनाए । 

पार्टीको १५ औं महाधिवेशनवारे उनले आफू पनि सभापति पदको स्वाभाविक उम्मेदवार भएको जानकारी दिए । विगतमा संसदीय दलको उपनेता, पार्टीको उपसभापतिलगायत धेरै जिम्मेवारी पूरा गरेको र पार्टी सभापतिमा पनि उम्मेदवार भइसकेकोले अब त्यो भन्दा तलको पदमा बस्न नमिल्ने भन्दै आगामी महाधिवेशनमा सभापति पदको स्वाभाविक आकांक्षी रहेको उनको भनाइ छ । 

उनले भने, “अहिले सबै पक्षसँग छलफल भइरहेको भन्दै बोल्न हतार हुने भएपनि सभापति पदको उम्मेदवारको आकांक्षी स्वाभाविक हो ।“ साथै पार्टीको महाधिवेशन आमनिर्वाचनभन्दा अगाडि वा पछाडि गर्ने भन्ने सम्बन्धमा संविधान र पार्टीको विधान अनुसार गर्नुपर्ने आफ्नो भइरहेको उनले बताए ।

प्रतिक्रिया