Listen LIVE

प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेछ : माओवादी सांसद आले मगर

काठमाण्डौ : नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद आलेमगरले भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई सत्तारूढ दलहरू र प्रधानमन्त्री स्वयंले संरक्षण गरिरहेको आरोप पनि लगाए  । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार विरोधी साइनबोर्डहरू उखेलेर फाल्न समेत आग्रह गरे । प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्ने मात्र नभई मायाले गाला मुसारेर मन्त्रिपरिषद्मा राखेको टिप्पणी पनि गरे ।

उनले भने, ‘अध्यक्ष महोदय, म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ । किनभने जताततै भ्रष्टाचार मात्र देखिन्छ । भ्रष्टाचार गर्ने एक जना मन्त्रीलाई सम्माननीय प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन कि मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ । र थेग्न नसकेपछि निलम्बन गर्नुहुन्छ । एक जना मन्त्रीलाई निकाल्नुभयो । अर्को एक जना पाइप लाइनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन ?’

उनले भ्रष्टाचारमा संलग्न पाइप लाइनमा रहेका मन्त्रीको लाइफलाइन छ कि छैन? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया