गुल्मी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ मा पुरक बजेट नल्याउने बताएका छन् । नेकपा (एमाले) धुर्कोट गाउँ कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनस्तरबाट निगरानी बढाउनुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले विकास र समृद्धिबाट विकट बस्तीलाई जोड्ने गरी प्राथमिकतामा राखेको बताए ।
एमाले धुर्कोट गाउँ कमिटीले विभिन्न माग समेटिएको ज्ञापनपत्र उहाँलाई त्यस कार्यक्रममा हस्तान्तरण गरेको छ । ज्ञापनपत्र लिँदै मुख्यमन्त्री आचार्यले यहाँहरूले दिएको योजनाहरु अर्काे वर्षको बजेटमा प्राथमिकताको आधारमा समावेश गरिने बताए ।
बजेट कार्यान्वयनमा यहाँहरूले निगरानी गर्न भने जरुरी रहेको भन्दै उनले प्राथमिकताको आधारमा योजना तर्जुमा गरिने स्पष्ट पारे । परेका बजेटको सदुपयोगमा बढी ध्यान दिनुका साथै राम्रोसँग कार्यान्वयन र गुणस्तररूपमा योजना सम्पन्न गर्नका लागि जनस्तरको सक्रियता चाहिने बताए ।