Listen LIVE

नेपालगञ्ज–गुलरिया जोड्ने पेडारी पुल निर्माण तीव्र

नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३ खजुरा बजारस्थित पेडारी नालामा चार लेनको पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले एक महिनाभित्र नयाँ पुलबाटै सवारी साधन सञ्चालन हुने गरी निर्माण कार्य तीव्ररुपमा अघि बढेको जानकारी दिए ।

योजना प्रमुख भण्डारीले भने, “खजुराबासीले भोगिरहेको लामो समयदेखिको सास्ती अबको केही समयमै अन्त्य हुनेछ, निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्नेगरी काम अघि बढाएको छ ।” 

नारायणम निर्माण सेवासँग २०८३ बैशाख १८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी भ्याटसहित आठ करोड ९६ लाख रुपैयाँमा ठेक्का लिएको भए पनि तोकिएको समय अगावै काम सम्पन्न हुने देखिएको छ । 

खजुरामा चार लेन सडक भए पनि बर्षौ पहिले निर्माण भएको साँघुरो र जिर्ण पुल भएका कारण सानो बर्षातमा समेत नालाको पानी सडक भएर बग्दा बर्षा याममा पटक पटक आवागमन प्रभावित हुने गरेको छ । 

नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाई र ३४.४ मिटर लम्बाईको छ । यसैगरी पुलको दुबैतर्फ दुईसय मिटर एप्रोच सडक पनि निर्माण गरिनेछ । 

खजुराका स्थानीय बासिन्दासमेत रहेका लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्रीले खजुरा बासीको लामो समयदेखिको पहलपछि पुल निर्माण कार्य शुरु भएको जानकारी दिँदै निर्माण कम्पनीको कामबाट आम स्थानीय बासिन्दा उत्साहित भएको बताए । पुल निर्माण कार्यको अवस्थाबारे जानकारी लिन हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले नियमित अनुगमन गर्ने गरेको छ ।

प्रतिक्रिया