नेपालगञ्ज : बाँकेको उद्योगी व्यवसायीहरुको छाता संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघले शसस्त्र द्वन्द्वमा विस्थापित भएका जिल्लाका छोटी भन्सारहरु पुनस्र्थापना गर्न माग गरेको छ ।
खुला सीमाना र अवैध आयातका कारण नेपालगञ्ज लगायत बाँके जिल्लाका उद्योग व्यवसाय धराशायी हुँदैगएको जनाउँदै नाकामा कडाइ गर्नुका साथै विस्थापित छोटी भन्सार पुनस्र्थापना गर्न माग गरिएको हो ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले शसस्त्र द्वन्द्वका बेला बन्द गरिएका जिल्लाको छोटी भन्सार कार्यालय अझै पुनस्र्थापना नहुँदा विभिन्न नाकाबाट अवैध आयात निर्यात बढेकाले तत्काल ती भन्सार कार्यालय सञ्चालन गर्न संघले माग गरेको बताए ।
उनका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साई गाउँ र साइगाउँ पश्चिमतर्फको उढरापुर नाकामा पहिले रहेका छोटी भन्सार कार्यालयहरु पुन सञ्चालन गर्नु अति आवश्यक भएको छ ।
अध्यक्ष धामीले भने, “लामो समयदेखि ती छोटी भन्सार कार्यालय पुनस्र्थापना नहुँदा एकातर्फ राजस्व चुहावट बढ्दै गएर राजस्व संकलनको लक्ष्य पूरा हुन सकेको छैन भने अर्कोतर्फ अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचनाहरु काम नलाग्नेगरी जिर्ण भएको छ ।”
नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनः स्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रको बाटोबाट खुलेआम चोरी तस्करी हुनेगरेको बताए ।
उनले छोटी भन्सार नभएका नाकाबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठुलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेकाले नेपालगन्जको व्यापार व्यवसाय संकटमा परेको बताए ।
बाँकेको सीमाना भारतसँग ६५ किलोमिटर खुला रहेको छ । साइड नाकाहरुमा नेपाली सुरक्षाकर्मीको उपस्थिति रहे पनि भन्सार छली हुने गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार