पाल्पा : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको सरकार ढल्छ भनेर सपना नदेख्न आग्रह गरेका छन् । केही मानिसले सरकार आजै ढल्छ, भोलि ढल्छ भने पनि त्यो कल्पना मात्र भएको उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेनमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली कांग्रेस र एमालेको सरकार आगामी चुनावसम्म जाने बताए । उनले सरकारमा दुई दलबिच भएको एकताले सरकार ढाल्छौँ भन्नेहरु अहिले चुप लागेर बसेको चर्चा गरे ।
सरकारले जनचाहनाअनुसार काम गर्ने र दुबै पार्टीले परामर्श गरेर अगाडि बढ्ने मन्त्री पौडेलले बताए । एमाले र काँग्रेस देश र जनताको हितमा काम गर्ने पार्टी भएको उनले दावी गरे ।
अर्थमन्त्री पौडेलले अस्थिरताको खोजी गर्ने दिन गएको बताउँदै अब नेकपा (माओवादी केन्द्र) ले मुलुकलाई अस्थिरतामा लैजानबाट रोकिएको उल्लेख गरे । दृष्टिकोण, एजेन्डा र गन्तब्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको उनले बताए । ‘मुलुुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं, उनले भने, “यही सरकारले मुलुकको भविष्य बनाउँछ ।”
उपप्रधानमन्त्री पौडेलले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको जिकिर गरे । उनले भने, ‘एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ, कमिला हिड्न थाल्छ ।’ रास्वपा अब हराउँदै जाने दाबी गरे ।
उनले नेपाल प्रतिगमनतिर जाने सम्भावना नरहेको उल्लेख गर्दै प्रतिगामी तत्वहरू किनारा लागिसकेको बताए । उनीहरूको नेपालमा भविष्य नरहेको मन्त्री पौडेलको दावी छ । प्रतिगामी एजेन्डा बोकेर समय नफाल्न उनले राजावादीहरुलाई आग्रह गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार