काठमाण्डौ : सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सत्तापक्षको उपस्थिति नहुँदा सत्तापक्षको नेतालगायतका पदाधिकारीको हैसियत प्रदान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलसँग सहकार्य गर्नुपर्ने भएको छ । तल्लो सदन प्रतिनिधि सभामा करिब दुई तिहाइ बहुमत प्राप्त गरेको रास्वपाको माथिल्लो सदनमा प्रतिनिधित्व छैन ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रिय सभामा सरकारी कार्य सञ्चालन तथा सहजीकरण गर्न सत्तापक्षको नेता आवश्यक हुने बताए । उनले भने, æप्रधानमन्त्रीले सत्तापक्षको नेता नतोकेको अवस्थामा मन्त्रीले सहजीकरण गर्नुपर्ने हुन्छ ।Æ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्यव्यवस्था तथा परामर्श समितिको पदेन सदस्य हुने व्यवस्था छ । विधि निर्माण प्रक्रियामा कानुनमन्त्रीले सभा सञ्चालन पूर्वसहजीकरण गर्ने तथा सरकारको प्राथमिकताबारे सुझाव दिने भूमिका हुन्छ तर सो प्रक्रियामा सरकारलाई सघाउन सत्तापक्षका नेता, मुख्य सचेतकलगायतको भूमिका मन्त्रीको भन्दा महत्वपूर्ण हुन्छ ।
राष्ट्रिय सभा नियमावली, २०७५ तथा सङ्घीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७३ ले सत्तापक्षको नेतालाई …सत्तापक्षको तर्फबाट राष्ट्रिय सभाका सरकारी कार्य सञ्चालन गर्न प्रधानमन्त्रीद्वारा मनोनीत मन्त्रीबाहेकका राष्ट्रिय सभाको कुनै सदस्य सम्झनुपर्नेÚ परिभाषित गरेको छ । त्यसै गरी सत्तापक्षको मुख्य सचेतकलाई प्रधानमन्त्रीले तोकेको राष्ट्रिय सभाको सदस्य सम्झनुपर्ने नियमावलीको व्यवस्था छ ।
राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाँलले संविधान र कानुनले परिकल्पना नगरेको असाधारण परिस्थिति रहे पनि सत्तापक्षको नेतालगायतका पदाधिकारी व्यवस्थापन गर्न दुई वटा विकल्प सुझाए । उनले भने, æमनोनीत सदस्यलाई सत्तापक्षको नेता तोक्न पाइयो वा कुनै दलसँग सहकार्य गरेर सो दलबाट निर्वाचित राष्ट्रिय सभाका सदस्यमध्ये सत्तापक्षको नेतालगायतका पदाधिकारी व्यवस्थापन गर्न पाइयो ।Æ
सरकार गठन भएयता मन्त्रीपरिषद्को पहिलो दुई वटा बैठकले राष्ट्रपतिबाट मनोनीत हुने सदस्यको सिफारिस गरेको छैन । सत्ताको नेतृत्व गरेको रास्वपाले दोस्रो विकल्पबारे कुनै दलसँग छलफल गरेको सार्वजनिक भएको छैन । राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल हो । सो दलका सभापति गगन थापाले चुनावी परिणामलगत्तै अबको पाँच वर्ष प्रतिपक्षमा बस्ने जनादेश प्राप्त भएकोले सोहीबमोजिम अगाडि बढ्न स्पष्ट गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार