नेपालगञ्ज : बाँकेमा ९३.०४ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब ३३ हजार ७ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ३१ हजार ४ सय २९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो ।
पछिल्लो समय रोपाइँले तीव्र गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सिंचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ भने आकाशे पानीमा निर्भर रहेका केही स्थानमा मात्रै रोपाइँ बाँकी छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेका अनुसार सिक्टा सिंचाइ आयोजनाको कमाण्ड क्षेत्र तथा अन्य सिंचाइ सुविधा पुगेका स्थानमा किसानले रोपाइँ सम्पन्न गरिसकेका छन् । पर्याप्त वर्षापछि रोपाइँ उल्लेखनीय रूपमा अघि बढेको उनले बताए ।
उनका अनुसार बाँकेमा सामान्यतया असार दोस्रो सातादेखि धान रोपाइँ सुरु भई भदौ पहिलो सातासम्म चल्ने गर्छ । यस वर्ष मनसुन केही ढिलो सक्रिय भएकाले रोपाइँ ढिलो सुरु भए पनि पछिल्ला दिनमा भएको वर्षाले किसानलाई राहत पुगेको छ ।
किसानहरूका अनुसार पछिल्ला केही दिनको वर्षाले खेतमा पर्याप्त चिस्यान पुगेपछि रोपाइँ तीव्र रूपमा अघि बढेको हो । मौसम अनुकूल रही नियमित वर्षा भइरहे बाँकी करिब ६.९६ प्रतिशत क्षेत्रफलमा पनि साउनभित्रै रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार