Listen LIVE

दसैँ विदामा दर्शकको रोजाइ नेपाली चलचित्र

काठमाण्डौ : नेपाली चलचित्र क्षेत्रका लागि दसैँ निकै शुभ र फलदायी समय मानिन्छ । अन्य समयको तुलनामा दसैँ लक्षित प्रदर्शनमा आउने चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । 

यस वर्ष दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने तयारीमा छन् । चलचित्रहरु ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आउने भएका हुन् । फूलपातीको दिन अर्थात् असोज १३ देखि यी चलचित्रहरु नेपाल लगायत विदेशमा समेत प्रदर्शनमा आएका छन् । 

चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिवंश आचार्यमा टेलिश्रृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’लाई चलचित्रमा पस्किएका छन् ।

निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा बनेको हरिबहादुरको जुत्तामा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । यस चलचित्रको पटकथा स्वयम् अभिनेता आचार्यले लेखेका छन् ।

यस्तै, चलचित्र ‘हरिबहादुरको जुत्ता’ का निर्माता सरोज ओलि भन्छन, “दसैँ हामी सबै नेपालीको महान चाड भएकै कारण यो समयमा हरेक कामको थालनी गर्नु विशेष मानिन्छ । दसैँमा हरेक नेपालीले कामबाट बिदा लिने गर्छन् । आफ्ना विशेष समय परिवारसँग बिताउन मन पराउँछन् । देश विदेशमा भएका आफन्तबिच भेटघाट हुने तथा पारिवारिक रमाइलो गर्नुका साथै सबै परिवार हलमा चलचित्र हेर्ने वातावरण बन्ने गर्छ । जसकारण नेपाली चलचित्र क्षेत्रका लागि पनि दसैँ विशेष छ । दसैँमा चलचित्र प्रदर्शन गर्न पाउनु भनेको हाम्रो लागि ठुलो काम पनि हो ।“ 

चाडवाडको समयमा खानपीन र रमाइलो बाहेक बाँकी रहेको समय नेपाली फिल्म हेरेर पनि मनोरञ्जन लिन सकिने उनको भनाइ छ । उनी भन्छन, “’हरिबहादुर’ आफैँमा एक फरक पात्र हो । यस पटक ’हरिबहादुर’ले हँसाउने सँगसँगै रुवाउँछ पनि । सँधैझै यस पात्रले सामाजिक विकृतिलाई व्यङ्ग्य गरेको छ । यसमा पारिवारिक अवस्थासँगै देशको अवस्थालाई पनि चित्रण गर्ने प्रयास गरेका छौँ ।“ 

यसैगरी, वितरक किरण श्रेष्ठका अनुसार चलचित्र क्षेत्रका लागि दसैँविशेष शुभ त मानिन्छ नै । तर नेपाली चलचित्रका लागि दसैँबाहेक पनि हरेक चाडपर्व विशेष हुने उनको भनाइ छ । “विशेषगरी चलचित्र मनोरञ्जनकै लागि बनाइन्छ । त्यसकारण ३६५ दिन नै चलचित्रले बजार पिट्नैपर्छ“, वितरक श्रेष्ठ भन्छन, “अन्य चाडपर्वको तुलनामा दसैँमा चलचित्र हेर्न आउने दर्शकको चाप बढी हुन्छ । दसैँको समयमा पारिवारिक कथावस्तुमा निर्माण गरिएका चलचित्रले बढी दर्शक पाउने गरेको छ । चलचित्र राम्रो बन्यो भने वर्षभरिनै चल्छ ।“ 

उनका अनुसार चलचित्रले राम्रो व्यापार गर्नु भनेको चलचित्र आफैँले गर्दा हो । दसैँमा धेरै चलचित्रहरुको प्रदर्शन मिति छुट्याएर पनि हुँदैन । प्रायः चलचित्रको प्रदर्शन मिति जुध्यो भने सम्पूर्ण चलचित्र क्षेत्रले नै घाटा व्यहोर्नुपर्ने हुन्छ ।

“अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने दसैँको समयमा नेपाली चलचित्रले स्वदेश तथा विदेशमा गरि ५० करोडभन्दा माथि कमाई हुने गर्दछ“, उनले भने, “तर यसपालि ४० देखि ६० करोडभन्दा माथिको आँकलन गरेको छु, मैले । यसपालिको दसैँमा प्रदर्शनको तयारीमा रहेको फिल्म सबै राम्रा छन् । यसबाहेक नेपाली दर्शकले नेपाली चलचित्र मनदेखि नै माया गर्ने गर्दछन् ।“ 

यस्तै, उनले वितरण गरेको पूर्णबहादुरको सारङ्गीले ८० करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको थियो । यस्तै, पशुपति प्रसाद २, भष्मे डन’ ले पहिलो दिन दुई करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको थियो । 

उनका अनुसार दसैँमा नेपालमा पारिवारिक विषयमा बनेका चलचित्रको व्यापार राम्रो हुनेगरेको छ । दसैँ आफैँमा पारिवारिक मिलनको चाड हो । त्यसैले त्यस्ता चलचित्र दसैँको समयमा प्रदर्शन गर्नु राम्रो हुन्छ । उनी भन्छन, “यो दसैँमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ’माइतीघर’ पनि पारिवारिक चलचित्र हो । सबै परिवारहरुले दसैँमा माइतीघर हेर्दा पारिवारिक मिलनसँगै मनोरञ्जन समेत मिल्नेछ ।“ 

मिलन तामाङको निर्देशनमा बनेको चलचित्र माइतीघर’ मा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय छ ।

तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको यो चलचित्र पनि असोजको १३ गतेबाट प्रदर्शनमा आउने मिति तय गरेको छ । चलचित्र ‘माइतीघर’ लाई चलचित्र जाँचपास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको निर्माणपक्षले जनाएको छ । 

यसैगरी, ६ करोडमाथि बजेटमा निर्माण भएको चलचित्र ‘बलिदान’ निर्माता सन्तोष सेनको निर्देशनमा बनेको छ । यो चलचित्र प्रदर्शनमा आउनु अगावै धेरै चर्चा बटुलिसकेको छ । चलचित्र ‘बलिदान’ मा अभिनेता समीर भट्ट, ऋचा शर्मा, अर्पण थापा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । दक्षिण भारतीय चलचित्रजस्तै तयार गरिएको यो चलचित्रको कथावस्तु विशेषतः द्वन्द्वप्रधान रहेको जनाइएको छ । 

विशेषगरि चाडपर्वको समयमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्ने गर्छन् । दसैँको बेला बिदासँगै पाविारिक जमघट र मनोरञ्जनका लागि सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकहरुको बाक्लो उपस्थिति देखिन्छ ।

प्रतिक्रिया