काठमाण्डौ : प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर प्रचारप्रसारमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूले प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर चुनावी मैदानमा होमिएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शुक्रबार सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर उम्मेदवार घोषणा गर्दा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने निर्णय गरिसकेको छ । उपमहासचिव लेखराज भट्टले अध्यक्ष ओलीलाई नै पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रष्ट पारे । उनले राष्ट्रियताका पक्षमा अडान लिने र समृद्धिका पक्षमा काम गर्ने भएकैले पार्टीले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने निर्णय लिएको बताए ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रधानमन्त्रीको रूपमा प्रस्तुत भएर चुनावी मैदानमा छन् । नेता देवप्रसाद गुरुङले नेकपाले जितेमा संयोजक प्रचण्ड स्वाभाविकरूपमा प्रधानमन्त्री बन्ने बताए । उनले भने, “पूर्वप्रधानमन्त्री तथा सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठसहित अरू पनि प्रधानमन्त्री पदका लागि योग्य हुनुहुन्छ । देशको नेतृत्व गर्न सक्नुहुन्छ तर निर्वाचनको परिणामपछि मात्रै यो विषयमा निष्कर्ष आउँछ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीले जनकपुरधाममा बृहत् सभा गरेरै प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको छ । रास्वपाका वरिष्ठ नेता काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिएको हो । सभापति रवि लामिछानेले भ्रष्टाचारको अन्त्य, सुशासनसहितका मुद्दा सम्बोधन गर्न वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीमा प्रस्तुत गरिएको जानकारी दिए ।
यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई र श्रम संस्कृति पार्टीले अध्यक्ष एवं धरान उपमहानगरपालिका पूर्वप्रमुख हर्कराज राई साम्पाङलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार