नेपालगञ्ज : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि ५६ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । चुनावी दौडमा प्रतिस्पर्धा गर्ने अधिकांश पुरुष उम्मेदवार छन् । तर बाँकेमा चार जना महिलाले भने हिम्मतका लागि प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।
बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि महिला उम्मेदवार चुनावमा होमिएका छन् । पुरुष मात्रै राजनीतिमा सक्रिय हुन सक्ने र महिलाले नेतृत्व गर्न नसक्ने मानसिक्तालाई चिर्दै चार जना महिला प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा सहभागि भएका छन् । उम्मेदवार बनेका धेरै पुरुष उम्मेदवारकाबिच उम्मेदवारी दिँदै चार जना महिलाले निर्वाचन लड्ने साहस देखाएका छन् ।
बाँकेको क्षेत्र नम्बर १ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नम्बर ३ बाट विद्या शर्मा, भूमि महतारा र भगवती शाहले उम्मेदवारी दिएकी छन् । केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्माले आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट, महतारा नेपाल मजदुर किसान पार्टी र शाहले स्वतन्त्ररुपमा उम्मेदवारी दिएकी हुन् ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी निवासी केसी लुम्बिनी प्रदेश सभा सदस्य थिइन् । प्रतिनिधि सभा निर्वाचनमा सहभागि हुन उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएकी छन् । प्रदेश सभा सदस्यका रुपमा रहँदा उनले थुप्रै योजनाहरु आफ्नो निर्वाचन क्षेत्रमा सम्पन्न गरिन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट प्रदेश सभा सदस्य बनेकी केसीले पदमा रहँदा–नरहँदा जनताको सेवामा खटिएको दाबी गरिन् ।
‘‘प्रदेश तहमा अनुभव भइसकेको छ, सङ्घीय संसदमा पुगेर जनताका मुद्दा अझ प्रभावकारीरूपमा उठाउने लक्ष्य छ ।’’ चुनावी मैदानमा उनले भन्दै आएकी छन् । केसीले आफ्नो उम्मेदवारी विकास, सुशासन र महिलाको अधिकारलाई केन्द्रमा राखेर अघि बढेको बताउँछिन् । उनले प्रदेश सभामा रहँदा शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा काम गरेको दाबी गर्दै प्रतिनिधि सभामा पुग्दा त्यसलाई अझ व्यापक रूपमा अघि बढाउने प्रतिबद्धता जनाइन् ।
२०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा बाँके क्षेत्र नम्बर १ मा तत्कालीन गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार केसी निर्वाचित भएकी थिइन् । उनले एक हजार १३७ मतान्तरले विजय हासिल गरेकी थिइन् । केसीले नौ हजार १०३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उनमुक्ति पार्टीका सोमराज चौधरीले सात हजार ९६६ मत पाएका थिए । यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका तीनै जना महिला स्थानीयस्तरमा चर्चित अनुहार हो ।
आम जनता पार्टीबाट उम्मेदवारी दिएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जैसपुरकी शर्मा स्थानीयस्तरमा सामाजिक अभियानमा सक्रिय छिन् । शर्मा जनताको दैनिक समस्या संसदमा पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताउँछिन् । उनले शिक्षा स्वास्थ्य लगायत स्थानीय मुद्दालाई उठाउँदै आएकी छन् ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ सिर्जना टोल निवासी महत्तरा मजदुर किसान पार्टीको राजनीतिमा सक्रिय छिन् । उनले सामाजिक समस्या, मतभेद, उत्पीडनलगायतका मुद्दा उठाउँदै आएकी छन् । खासगरी तल्लो तहमा जीवन निर्वाह गर्ने जनताको समस्या आफ्नो मुद्दा हुने गरेको महत्तरा बताउँदै आएकी छन् ।
यसैगरी, बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ४ बानियाभार निवासी शाहले स्वतन्त्ररुपमा उम्मेदवारी दिँदै समाजको स्तरमाथि उकास्न आफु निर्वाचनमा होमिएको दाबी गर्दै आएकी छन् । जनताको वास्तविक समस्यालाई उठाएर सुसज्जित समाज निर्माण गर्न आफ्नो उम्मेदवारी भएको बताउँछिन् ।
बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा ६० जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका सरस्वतीप्रसाद बर्मा र बिजयकुमार गुप्ता, क्षेत्र नम्बर ३ मा प्रदिप पौडेल र दिपक बहादुर शाही गरी चार जनाले उम्मेदावरी फिर्ता लिएका छन् । तीनवटै क्षेत्रमा उम्मेदवार फिर्ता भएसँगै क्षेत्र नम्बर १ मा १४ जना र क्षेत्र नम्बर २ मा २० जनाको उम्मेदवारी कायम भएको छ भने क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवार गरी जिल्लामा ५६ जना उम्मेदवार बनेका हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार