दाङ : दाङको घोराही उपमहानगरपालिका–१७, कर्जाहीका किसान कृत्रिम जलाशयको सिँचाइ सुविधाले मनग्गे आम्दानी गर्न सफल भएका छन् । करिब १० बिघा क्षेत्रफलमा निर्माण गरिएको जलाशयबाट सिँचाइ सुविधा पुगेपछि सिङ्गो गाउँका किसान बाह्रै महिना व्यावसायिक तरकारी खेतीमा जुटेका छन् । २०७७ सालमा जलाशय निर्माण भएपछि किसानको दैनिकी नै फेरिएको स्थानीय कृषक कृष्णी चौधरीले बताइन् ।
उनका अनुसार तरकारी खेतीबाट दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उनले भनिन, 'पहिला मजदुरी गर्न जानुपथ्र्यो, अहिले घरनजिकै सिँचाइ भएपछि व्यावसायिक खेतीमै लागेका छौँ ।' हाल उनले १० कट्ठा जमिनमा तरकारी खेती गर्दै आएकी छन् ।
जलाशयबाट पम्पसेटमार्फत सिँचाइ गर्ने व्यवस्था मिलाइएकाले तरकारी मात्र होइन, अन्य बाली उत्पादनमा पनि सहज भएको किसानको भनाइ छ । यद्यपि पम्पसेटमा आएको खर्च भने आफूहरू तिर्दै आएको उनले बताइन् । सोही क्षेत्रका अर्का कृषक बाबुराम चौधरीले पनि जलाशयकै कारण खेती विस्तार गर्न सम्भव भएको बताए ।
सुरुमा घरायसी प्रयोजनका लागि मात्र खेती गर्दै आएका उनले अहिले १५ कट्ठामा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । खेतीबाट भएको आम्दानीले थप १० कट्ठा जमिनसमेत किन्न सफल भएको उनले जानकारी दिए । जलाशय निर्माणमा स्थानीयको सक्रियता उल्लेखनीय रहेको बताउँदै चौधरीले पालिकासँग समन्वय गरेर योजना अघि बढाइएको स्मरण गरे । 'जलाशय बनेपछि पानीको अभाव हट्नुका साथै आर्थिक अवस्था पनि सुधार भएको छ,Æ उनले भने, æवैदेशिक रोजगारीमा गएकासमेत गाउँ फर्केर खेतीमा लाग्न थालेका छन् ।'
हाल कर्जाहीका करिब एक सयभन्दा बढी घरपरिवार व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । किसान बिहान सबेरै घोराही बजार पुगेर तरकारी बेच्छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार